काठमाडौ । देशभर क्रमशः तापक्रम घट्दै गएको छ भने चिसो बढ्दै गएको छ।
यसै क्रममा आज (शनिबार) काठमाडौँ उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा घटेको छ।
मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार आज काठमाडौँ उपत्यकामा शुक्रबारभन्दा न्यूनतम र अधिकतम दुवै तापक्रम घटेका छन्।
आज उपत्यकामा न्यूनतम ९.३ र अधिकतम तापक्रम २०.८ डिग्री सेल्सियस छन्। शुक्रबार यहाँ न्यूनतम ९.४ र अधिकतम २१.२ डिग्री सेल्सियस थिए।
काठमाडौँ उपत्यका सँगै देशभर नै तापक्रम घट्दो र चिसो बढ्दो छ।
मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ।
न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
अहिले नेपालमा पोस्ट मनसुन सिजन छ। यो सिजन यही नोभेम्बर महिनाभर रहन्छ। डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्छ। हिउँदयाम नजिकिँदै गरेकाले देशभर चिसो बढ्दै गएको हो।