क.जलजला: मोहनविक्रमले २३ वर्ष खर्चेर प्रेमिकाको नाममा तयार पारेको ‘ताज महल’

काठमाडौ । भारतको उत्तर प्रदेशस्थित आगराको यमुना नदी किनारमा गजधम्म उभिएको छ, ताज महल। लाखौँ पर्यटकको रोजाइमा पर्ने ताज महल प्रेमको प्रतीक पनि मानिन्छ। मुगल सम्राट शाहजहाँले पत्नी मुमताजप्रति प्रेम समर्पण गर्न सन् १६३१ मा यो ‘मुमताज महल’ बनाएका थिए। अहिले पनि मानिसहरू प्रेमभाव प्रकट गर्न ‘तिम्रो लागि ताज महल बनाउन तयार छु’ भन्न पछि पर्दैनन्।

यो त विदेशको कुरा भयो। नेपालमै खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा रानी महल बनाएका छन्। विसं १९५४ सालमा बनेको पाल्पास्थित कालीगण्डकी किनारको यो महल पनि ‘प्रेमकै प्रतीक’ हो।

तर, यी विशाल भौतिक संरचना शासन र शक्तिमा हुनेले निर्माण गरेका हुन्। सामान्य नागरिकका लागि प्रेमभाव दर्शाउन ‘ताज महल बनाइदिन्छु’ वा ‘रानीमहल दिन्छु’ भने पनि व्यवहारमा त्यो सम्भव छैन। बरु साहित्यमा रुचि राख्नेहरूका लागि राष्ट्रकवि माधवप्रसाद घिमिरेले उहिल्यै आफ्नी दिवंगत पत्नीको स्मृतिमा ‘गौरी’ लेखेजस्तै कृति लेख्न भने सम्भव छ।

राष्ट्रकविले विसं २००४ सालमा पत्नी गौरी घिमिरेको निधनपछि शोक काव्य ‘गौरी’ लेखे। विसं २०१५ सालमा पहिलोपटक छापिएको गौरी शोककाव्यका २० औँ संस्करणभन्दा बढी छापिइसकेका छन्। अर्थात् ३३ पृष्ठको यो सानो पुस्तिकाले राष्ट्रकविको प्रेम समर्पणलाई दशकौँदेखि जीवन्त बनाइराखेको छ।

हो, आफ्नो प्रेमलाई यस्तै जीवन्तता प्रदान गर्न वयोवृद्ध कम्युनिस्ट नेता मोहनविक्रम सिंहले हालसालै भारी कृति तयार पारेका छन्, ‘का. जलजला’।

सिंहको कुनैबेला आफ्नै पार्टीकी कार्यकर्ता विद्या ढकाल (कामरेड जलजला) सँग प्रेम थियो। तर, ढकालको असामयिक निधनले उनको प्रेम अधुरो रह्यो। नेपालको कम्युनिस्ट आन्दोलनलाई समेत प्रभावित पारेको आफ्नो प्रेमप्रति समर्पण गर्दै सिंहले झण्डै २३ वर्ष लगाएर ‘कामरेड जलजला’ उपन्यास प्रकाशित गरेका छन्।

नेकपा (मसाल) का महामन्त्रीसमेत रहेका साहित्यकार सिंहले लेखेको यो पुस्तकमा पाँच लाख शब्द छन्। १ हजार ३२० पृष्ठको उपन्यासमा करिब ५०० पात्रहरू छन्। पुस्तक दुई खण्ड, आठ भाग, ७० परिच्छेद र २७२ अङ्कमा विभाजित छ। ३ हजार रूपैयाँ मूल्य तोकिएको यस उपन्यासको विमोचन यही २०८१ मंसिर १५ गते राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुँदैछ। र, पुस्तकको विमोचन गर्दैछिन् उपन्यासकी प्रमुख पात्र कामरेड जलजला अर्थात् विद्या ढकालकी आमा ९० वर्षीया ललिता ढकालले।

‘का. जलजला’ उपन्यास प्रेमको प्रतीक भए पनि सिंहका शब्दमा ‘यसमा प्रेमको प्रसंग अत्यन्त थोरै छन्। सारमा यो प्रेमको कथा हो र विश्वको दर्शन हो।’

यो उपन्यासलाई आफूले सम्पूर्ण विश्वलाई र जीवनलाई हेर्ने एउटा प्रयत्नको रूपमा लिएको सिंह बताउँछन्। उपन्यासको सारबारे प्राक्कथनमा लेखेका छन्, ‘जलजला सम्पूर्ण विश्वमा अन्तरनिहित छन् र सम्पूर्ण विश्व जलजलामा अन्तरनिहित छ।’

वेदबराज र विद्या ढकाल। तस्विर सौजन्य : जितेन्द्र ढकाल।

को हुन् जलजला?
विद्या ढकाल (कामरेड जलजला) को जन्म विस. २०१० सालमा काठमाडौँको गौशाला बत्तीसपुतलीमा भएको थियो। उनी सानैदेखि हक्की स्वभावकी रहेकी परिवारका सदस्यहरू बताउँछन्। 

जलजलाका पिता वेदवराज ढकाल नापी सर्वेक्षक थिए। जतिबेला राजा महेन्द्रले तराईका सिमाक्षेत्रमा बस्ती बसाल्ने योजना बनाए, जग्गा सर्वे गर्ने टोलीमा ढकाल पनि सामेल थिए। महेन्द्रनगरदेखि हेटौँडासम्म जग्गाको नापजाँच गर्न हिँडेका वेदवराजलाई चितवनको माटोले लोभ्यायो। राम्रो खेतीयोग्य जमिन, भर्खर बन्दै गरेको पूर्वपश्चिम राजमार्गको केन्द्र, काठमाडौँ र पोखरा दुवैतर्फबाट नजिकको दुरीलगायतका कारणले वेदवराजले चितवनमै जग्गा लिएर घर बनाउने निधो गरे।

त्यसपछि ढकाल परिवार काठमाडौँबाट २०१६ सालमा चितवनको कैलाशनगर बसाइँ सर्‍यो। त्यसको केही समयपछि ढकालले तोरीखेतमा घर बनाए। त्यहीँ हुर्किन् विद्या ढकाल।

वेदवराजको रुचि औषधि विज्ञानमा पनि थियो। गाउँमा अस्पताल नभएको त्यतिबेलाको अवस्थामा उनले सानोतिनो रोगको उपचार गर्ने र औषधिसमेत दिन्थे। त्यसैले गाउँलेहरूले उनलाई अदवका साथ ‘डाक्टरसाब’ भनेर बोलाउँथे। 

वेदवराज ढकालका दुई श्रीमती कमला र ललिताबाट गरी सातजना सन्तान थिए। तीमध्येकी जेठी छोरी हुन् जलजला। कमलाबाट जन्मेका जितेन्द्र तथा ललितातर्फका विद्या, योगेन्द्र, कान्ता, सरला, शान्ता र शरीता सबै जलजलाका भाइबहिनीहरू हुन्। 

सामान्यतय छोरालाई स्कुल पठाउने चलन सुरु भए पनि त्यो बेला छोरीलाई पढाउने चलन थिएन। तर, वेदवराजले आफ्ना छोराछोरीलाई स्कुल पठाए। उनी गाउँले र छरछिमेकीलाई समेत छोराछोरी पढाउन उत्प्रेरित गर्थे।

जलजलाले प्रारम्भिक शिक्षा प्रेमवस्ती प्रावि र माध्यमिक तहको शिक्षा गीतानगरको अरुणोदय माविबाट पूरा गरिन्।

२०२८ सालमा एसएलसी पास गरेपछि उनी नारायणगढको वीरेन्द्र क्याम्पसमा पढ्न थालिन्। उनीसँगै भाइहरू योगेन्द्र र जितेन्द्र पनि बस्थे। भाइहरू भने बालकुमारी स्कुलमा पढ्थे। कलेज पढ्दादेखि नै जलजला विद्यार्थी राजनीतिमा जोडिएकी थिइन्। उनी राजनीतिसँगै कला, साहित्य, वादविवाद प्रतियोगिता जस्ता अतिरिक्त क्रियाकलापमा समेत सहभागी हुन्थिन्। साथसाथै उनी आन्तरिक रूपमा कम्युनिस्ट पार्टीमा समेत जोडिइसकेकी थिइन्।

‘दिदी अत्यन्त हक्की स्वाभावकी हुनुहुन्थ्यो। अन्याय सहनुहुन्थेन। अन्याय भएको देखेपछि लड्न भिड्न पनि पछि पर्नुहुन्थेन,’ भाइ जितेन्द्र स्मरण गर्छन्, ‘दिदीले सानो उमेरमै धेरै काम गर्नुभयो। त्यो काम हामीले अहिलेसम्म पनि गर्न सकेका छैनौँ।’

वीरेन्द्र क्याम्पसबाट आईए गरेपछि उनी पर्साको ठाकुरराम क्याम्पसमा बीए पढ्न थालिन्। त्यतिबेला पञ्चायती व्यवस्थाविरुद्ध विद्यार्थी आन्दोलन चलिरहेको थियो। जलजला पनि विद्यार्थी आन्दोलनमा सामेल भइन् र पाँच महिना जेल परिन्। जेलबाट छुटेपछि पनि उनलाई वारेन्ट जारी भयो। त्यसपछि भने क्याम्पस पढ्ने अवस्था रहेन र उनी भूमिगत भइन्।

उनी कम्युनिस्ट नेताहरू मोहनविक्रम सिंह, निर्मल लामा, मोहन वैद्यलगायतसँगै चितवनसहित रोल्पा, बागलुङ, प्युठानलगायत जिल्लामा पार्टीको संगठन निर्माणमा सक्रिय भइन्। त्यही क्रममा रोल्पाको थवाङमा पार्टी निर्माण गर्न गएको बेला प्रसिद्ध जलजला धुरीबाट उनको भूमिगत नाम ‘का. जलजला’ रहन गएको हो। देशभित्र मात्रै होइन, भारत प्रवासमा समेत संगठन निर्माणमा उनको योगदान रहेको नेताहरू स्मरण गर्छन्।

पार्टी कामकै सिलसिलामा २०३८ मंसिर १ गते दिल्लीमा बस दुर्घटनामा परेर उनको निधन भयो। 

जलजला आफूमात्रै आन्दोलनमा लागिनन्, उनकै प्रेरणाले भाइ बहिनीहरूसमेत कम्युनिष्ट पार्टीमा सक्रिय रहे। जलजलाकी बहिनी शान्ता ढकाल कुनैबेला सिंह नेतृत्वकै नेकपा मसाल निकट महिला संघकी अध्यक्ष थिइन् भने भाइ जितेन्द्र अहिले पनि मसालमै सक्रिय छन्।

विसं २०३६ सालमा मोहनविक्रम सिंहसँग जलजला।

प्रेम, विवाद र कारबाही 
भूमिगत रूपमा कम्युनिस्ट पार्टीको संगठन निर्माण गर्दै हिँड्नेक्रममा जलजलाको मोहनविक्रम सिंहसँग प्रेम भयो। सिंह त्यतिबेला नेकपा (चौथो महाधिवेशन) का महामन्त्री थिए। तर, विवाहित सिंहको प्रेम भने विवादित बन्यो। उनलाई पार्टीले कारबाही गर्‍यो र सँगै जलजलालाई पनि कारबाही गरियो। २०३३ सालमा नेकपा (चौम) ले सिंहलाई पार्टी महामन्त्रीबाट हटाउनुका साथै तीन वर्षका लागि साधारण सदस्यताबाट समेत निष्कासित गर्‍यो। जलजलालाई भने एक वर्षका लागि निष्कासित गरिएको थियो।

तैपनि जलजलामा आफूप्रतिको प्रेम र पार्टी तथा क्रान्तिप्रतिको आस्था कहिले पनि कमी नआएको सिंह बताउँछन्।

‘मसँगको प्रेमको कारणले उनले धेरै दुःख भोग्नुपर्‍यो। धेरै आलोचना पनि सहनुपर्‍यो। धेरै बदनाम पनि भइन्। र, धेरै कारबाही पनि उनीमाथि भयो। ममाथि पनि भयो,’ मोहनविक्रम सम्झन्छन्, ‘तैपनि मैले के पाएँ भने उनमा विशिष्ट प्रकारको दृढता थियो। ती सबै परिस्थितिमा पनि उनमा पार्टीप्रतिको आस्था, सक्रियता र दृढतामा कहिले पनि कामी आएन। जस्तोसुकै अप्ठेरो परिस्थितिमा पनि उनको मप्रतिको प्रेममा कहिल्यै कमी आएन।’  

जलजलासँगको प्रेमका कारण आफैँले निर्माण गरेको पार्टीको नेतृत्वदेखि साधारण सदस्यसमेतबाट हट्नुपर्दासमेत आफूमा पार्टीप्रतिको आस्थामा कुनै कमी नआएको सिंह बताउँछन्। महामन्त्रीबाट सिंहलाई हटाएपछि पार्टी नेतृत्वमा निर्मल लामा आए। त्यसपछि क्रमशः भक्तबहादुर श्रेष्ठ र चित्रबहादुर केसी महामन्त्री बने। तर, २०४१ सालमा भएको पाँचौँ महाधिवेशनमा सिंहमाथि फेरि कारबाही भयो। जबकि जलजलाको २०३८ सालमा मृत्यु भइसकेको थियो।

पाचौँ महाधिलेशनले गरेका कतिपय राजनीतिक निर्णयहरूमा त्यो बेलाकाे नेतृत्वले गरेका फेरबदलका कारणले तत्कालीन नेकपा चौम विभाजित बनेर नेकपा मोटो मशाल र पातलो मसाल बनेको सिंहको भनाई छ।

पार्टीमा भएको त्यो विभाजनले नेपालको कम्युनिस्ट आन्दोलनलाई समेत प्रभावित पार्‍यो। तर, सिंह भने त्यो घटनाबाट आफ्नो राजनीतिक जीवनमा कुनै उतारचढाव नआएको जिकिर गर्छन्।

सिंह भन्छन्, ‘प्रेमको कारण ममाथि कारबाही गरियो। म महामन्त्री थिएँ। महामन्त्रीबाट हटाइयो। केन्द्रीय समितिबाट हटाइयो। पार्टी सदस्यबाट हटाइयो। पार्टीबाट निष्कासित गरियो। त्यो निष्कासित जीवन बिताउन केरला (भारत) तिर जानुपर्‍यो। यी सबै भयो। तर, त्यसले मेरो राजनीतिक जीवनमा कुनै उतारचढाव आएन।’

उनले थपे, ‘जस्तोसुकै अवस्थामा पनि यहाँसम्म कि पार्टीबाट निष्कासित भएको अवस्थामा समेत मैले पार्टीप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्ने प्रयत्न गरेँ। पार्टीप्रतिको आस्थामा कहिल्यै कमी आएन। म सधैँ पार्टीको अनुशासनमा बस्ने प्रयत्न गरेँ। त्यसकारण पार्टी काममा मेरो निरन्तरता रहिरह्यो। जलजलासँगको प्रेमले वा त्यसबाट गरिएको कारबाहीले मेरो पार्टीप्रतिको आस्था, निरन्तरता, अनुशासन र क्रियाशीलतामा कुनै कमी आएन।’

जलजलाको मृत्युले परेको चोट
जलजलाको मृत्युले आफूलाई गहिरो चोट लागेको सिंह बताउँछन्। ‘का. जलजला’ उपन्यासमा प्रेमको प्रसंग खासै छैन। तर, उपन्यास लेखनका लागि प्रभाव पारेका धेरै कुरामध्ये जलजलाको मृत्युले दिएको चोट पनि हो।

नेपालमा वारेन्ट जारी भएपछि जलजला भारत गइन्। उनले बनारसबाट बीए पास गरिन्। सँगै पार्टी राजनीतिमा सक्रिय भइन्।

उनलाई तत्कालीन नेकपा (चौम) ले पञ्चायतविरुद्ध अन्तर्राष्ट्रिय समर्थन जुटाउने जिम्मेवारी दिएको थियो। त्यसक्रममा उनी दिल्लीमा बसेर भारतका साथै विभिन्न देशका कम्युनिस्ट पार्टी र जनतासँग पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा ऐक्यबद्धता जुटाउने प्रयासमा थिइन्।

त्यसैक्रममा दिल्लीमा विभिन्न भाइचारा संगठनहरूसँगको एउटा बैठकबाट फर्कनेक्रममा बस दुर्घटनामा परिन्। टाउकोमा चोट लागेर बेहोस भएकी जलजलालाई तत्काल समरजंग अस्पतालमा भर्ना गरियो, तर डाक्टरहरूले उनलाई बचाउन सकेनन्।

त्यतिबेला बाबुराम भट्टराई, लीलानाथ कुसुम, यामलाल पोखरेल, राजु नेपालीलगायत अखिल भारत नेपाली एकता समाजका नेताहरू दिल्लीमै थिए। मोहनविक्रम सिंह भने दुर्घटनाबारे जानकारी पाएपछि नेपालबाट दिल्ली गएको स्मरण गर्छन्। पछि परिवारका सदस्यहरू गएपछि उनको अन्त्येष्टि गरिएको थियो।

जलजलाको मृत्यु (२०३८) को करिब २२ वर्षपछि उपन्यास लेख्न थालेका सिंहले यो कृतिको नाम समेत उनैको नामबाट राख्ने निधो गरे।

हराएका दर्जनौँ कृतिको क्षतिपूर्ति
करिब चार दर्जन कृति प्रकाशन गरेका मोहनविक्रम सिंहले विगतमा आफूले लेखेका कयौँ कृतिहरू हराएको दुखेसो गर्ने गरेका छन्। उनले लेखेका पाँचवटा उपन्यास र कैयौँ कथाहरू हराए। 

खासगरी जेलमा बस्दा लेखेका उपन्यासहरू कुनै पनि बाँकी रहेनन्। पञ्चायतविरुद्धको आन्दोलनका क्रममा ९ वर्ष जेल जीवन बिताएका सिंहका कृतिहरू जेल सार्ने क्रममा कतै गायब भए, कतिपय राख्न दिएका साथीले नै हराइदिए वा उनीहरूको नै मृत्यु भयो। यसरी सिंहको उपन्यास लेखनको कथा दुखान्त रहेको छ। तर, जलजलाले केही हदसम्म ती हराएका उपन्यासहरूको पनि केही हदसम्म पूर्ति गर्ने उनको विश्वास छ।

सिंह भन्छन्, ‘ती उपन्यासका केही विषयवस्तु प्रस्तुत उपन्यासमा पनि समेटिएका छन्। यसले ती सबैको पूर्ति गर्छ भन्ने त होइन, तर मेरा पहिले हराएका उपन्यासहरू कुनै न कुनै रूपमा एक वा अर्को प्रकारले यो उपन्यासमा प्रतिबिम्बित भएका छन्।’

उनले २००९/१० सालतिर एउटा कथा लेखे, त्यो झापामा भएको एउटा राष्ट्रिय कथा प्रतियोगितामा पठाएका थिए। जुन प्रथम भएर पुरस्कृत पनि भएको समाचार आयो। तर त्यो कथा उनले फेरि कहीँ पाएनन्। त्यस्तै उनले २०१२ सालमा पाल्पा जेलमा हुँदा दुईवटा उपन्यास लेखे। ती उपन्यास एकजना मित्रलाई राख्न दिएका थिए। पछि ती सबै नष्ट भइदिए। 

उनले तौलिहवा जेलमा ‘ओखरकोट’ उपन्यास लेखेका थिए। त्यो उनले एकजना साथी टेकबहादुर पन्थीलाई राख्न दिए। पछि उनको मृत्यु भयो। त्यसैगरी पाल्पा जेलमा लेखेका धेरै कथाहरू थिए। ती पनि नष्ट भए। एउटै मात्र बच्यो ‘त्यो’ कथा। त्यो हालसालै कतिपय पत्रिकाहरूमा छापिएको पनि छ।

त्यस्तै, काठमाडौँ हनुमान ढोकाको पुलिस खोरमा बस्दाखेरी उनले ‘बूढाबा’ उपन्यास लेखे। त्यो पनि हरायो। त्यसपछि उनले बनारासमा लेखेको ‘तारा’ उपन्यास पनि बाँकी रहेन। यो सहित उनले पाँचवटा उपन्यास लेखे। 

‘त्योबेलाका ती उपन्यासहरूका कयौँ अंश यसमा सामेल छन्,’ उनी भन्छन्, ‘जस्तो, ओखरकोटको विषय। यो उपन्यासमा ओखरकोटको बेग्लै च्याप्टर पनि छ। त्यसमा त्यहाँको इतिहास, संस्कृति, जनजीवन र विकास कार्यहरू यस्ता धेरै कुराहरू संलग्न छन्।’

यस्तै, कम्युनिस्ट आन्दोलनका कयौँ विषय उपन्यासमा समावेश गर्ने प्रयत्न गरेको उनी बताउँछन्।

‘प्रेमको कथा विश्वको दर्शन’
सिंहको आफ्नै मूल्यांकनमा का. जलजला उपन्यास एउटा विश्व दृष्टिकोण हो। यसले समग्र मानव समाजको वर्णन गरेको छ। नेपाल र भारत मात्र होइन युरोप र अमेरिकादेखि अन्तरिक्षसम्म यसका पात्रहरू पुगेका छन्। करिब पाँचसय पात्रको भूमिका रहेको यो उपन्यासले सम्पूर्ण विश्वको अध्ययन गरेको छ।

सिंह भन्छन्, ‘संसारका प्रत्येक चिज, प्रत्येक व्यक्ति सम्पूर्ण विश्वको अंग हो। विश्वसँग त्यसको घनिष्ट सम्बन्ध छ। एउटा व्यक्तिमा सारा विश्व समावेश भएको हुन्छ। एउटा व्यक्ति पनि सम्पूर्ण विश्वसँग मिलेको हुन्छ। व्यक्तिसँग विश्वको अभिन्न सम्बन्ध छ। त्यसैले यो उपन्यासलाई मैले सम्पूर्ण विश्वलाई, जीवनलाई हेर्ने एउटा प्रयत्नको रूपमा लिएको छु।’

साथै यसमा कम्युनिस्ट आन्दोलनको विस्तृतरूपमा समीक्षा गर्ने प्रयत्न गरिएको उनी बताउँछन्। 

‘समाजवाद आजको विश्वको ऐतिहासिक आवश्यकता हो। कम्युनिस्टहरूको दृष्टिकोण, क्रियाकलाप, चिन्तनमा जो विचलन आएको छ,’ उपन्यासबारे व्याख्या गर्दै सिंह भन्छन्, ‘त्यसले गर्दाखेरी कम्युनिस्ट आन्दोलन धेरै कमजोर बनेको छ। यसको कारण के हो, त्यसको पनि समीक्षा गर्ने प्रयत्न गरिएको छ।’

२३ वर्षको मेहनत, भारतदेखि युरोपसम्मको यात्रा
‘का. जलजला’ उपन्यास लेख्न सिंहलाई २३ वर्ष लाग्यो। यसका लागि उनी कयौँ ठाउँमा पुगे। त्यहाँको जनजीवनबारे अध्ययन गरे। कयौँपटक रोल्पाको थवाङ आउजाउ गरे। भारतको कुमाउँ गढवाल पुगे। पार्टी कामको सिलसिलामा पुगेको बेला फ्रान्स रुस, जर्मन र युनानमा स्थलगत अध्ययन गरे। ति देशहरूका पुस्तकालय धाए।

यद्यपि एउटा पार्टीको महामन्त्रीले पूरै समय उपन्यासमा दिनु सम्भव थिएन। त्यसैले उनले पार्टी कामकै सिलसिलामा पुगेकै बेला स्थलगत अध्ययन अगाडि बढाए।

सिंह भन्छन्, ‘पार्टीका साथीहरू कुनै जिम्मेवारी लिएर गएपछि पार्टीको काम गर्छन् वा घुम्छन्। तर, मेरो हमेसा के हुन्छ भने म कुनै ठाउँमा गएँ भने त्यहाँको अध्ययन गर्ने प्रयत्न गर्छु। त्यहाँ सामग्री जुटाउने प्रयत्न गर्छु। नोट गर्ने प्रयत्न गर्छु। यसरी मैले यात्राकै सिलसिलामा ती ठाउँहरूको अध्ययन गर्ने प्रयत्न गरेँ। सामग्रीहरू जुटाउने प्रयत्न गरेँ। किताबहरूको खोजी गर्ने प्रयत्न गरेँ। त्यसबाट मलाई यो उपन्यास तयार पार्न धेरै मद्दत पुग्यो।’

सामान्यतया राजनीतिक जिम्मेवारीको सिलसिलामा गएको ठाउँहरू नै आफूले उपन्यासमा उल्लेख गरेको सिंह बताउँछन्।

यस्तै, रोल्पामा २०१३ सालमा पहिलोपटक खगुलाल गुरुङ र रुम बहादुर पाण्डेसँगै पार्टी स्थापना गर्न पुगेको स्मरण गर्ने सिंहले उपन्यासका लागि भनेर पनि पछि दुईपटक त्यहाँ गएको बताए। उपन्यासको प्रारम्भ कुमाउको अलमोडाको कौसानीबाट र अन्त्य थबाङमा हुन्छ। त्यसैले कौसानीको पनि उनले धेरै पल्ट यात्रा गरेका छन्। सिंह जहाँ जहाँ पुगे उपन्यासकी एउटी प्रमुख पात्र सुनन्दामार्फत आफूलाई प्रस्तुत गरेका छन्।

जेएनयूकी शोध छात्रा सुनन्दा जलजलाको खोजीमा काठमाडौँ उपत्यका, नेपालका विभिन्न जिल्लाहरु हुँदै थवाङ पनि पुग्दछिन्। उनी भैरहवा जेलमा पनि पर्दछिन र गान्धिवादीबाट मार्क्सवादी बन्दछिन्। अन्तमा उनको जलजलासित भेट हुन्छ।

भारतको कुमाउकी सौका जातीकी यी छात्रामार्फत नै सिंह नेपालका कैयौँ जिल्ला पुगेका छन्। जर्मन, फ्रान्स, रुस र यूनान घुमेका छन्। उनले जलजलाको माध्यमद्वारा उपन्यासमा पूरै ब्रम्हाण्डको यात्रा गरेका छन्। उनले आफ्नो उपन्यासमा यो पनि प्रश्न उठाएका छन्: अहिलेको ज्ञात विश्वभन्दा अरु असंख्य अज्ञात विश्वहरु त छैनन्?

उपन्यासमा जलजला र अजितपछि सुनन्दा नै तेस्रो मुख्य पात्र हुन्। कथा अनुसार कतिपय ठाउँमा वास्तविक पात्रहरु पनि छन्। जस्तैः निर्मल लामा, चित्रबहादुर केसी, रश्मी नेपाली, प्युठानका खगुलाल गुरुङ, संस्कृतिविद् सत्यमोहन जोशी। त्यही प्रकारले उपन्यासमा अरुपनि वास्तविक पात्रहरुको ठूलो संख्या छ। तर, उनीहरुको भूमिका पनि औपन्यासिकरुपमै रहेको सिंह बताउँछन्।

यसकारण तयार भयो का. जलजला
उपन्यास लेखनमा धेरै कुराले असर गरेको सिंह बताउँछन्। साहित्यप्रतिको रुचि, इतिहासको अध्ययन, दुखान्त प्रेमजस्ता कुराले उपन्यास लेख्न प्रेरित गरेको सिंहको
भनाइ छ।

त्यस्तै, उनको रुचिको विषय इतिहास थियो। इतिहासका अध्येता सिंहले आफूले चाहेजसरी इतिहासको अध्ययनमा समय दिन सकेनन्। तर, जलजलामा इतिहासका कयौँ पाटा समेटेका छन्।

सिंह भन्छन्, ‘मेरो ध्यान इतिहासको अध्ययनतिर थियो। मैले सोचेको थिएँ, मेरो सारा जीवन इतिहासको अध्ययन र अनुसन्धानमा लगाउँछु भनेर। त्यो पनि मेरो इच्छा पूरा हुन पाएन। इतिहासको पक्षलाई पनि मैले धेरै महत्त्व दिएको छु।’

उपन्यासकी एक जना सोध छात्रा सुन्नदाद्वारा आफ्नो त्यो दबेको इच्छालाई पूरा गर्ने प्रयत्न गरेको उनको भनाई छ।

यस्तै, जलजलाको मृत्युले पनि सिंहलाई उपन्यास लेखनका लागि प्रेरित गर्‍यो। उनको स्मृतिमा उपन्यास लेख्ने अठोट गरेको सिंह बताउँछन्।

‘जलजलाजीको मृत्युबाट मलाई धेरै दुःख पुग्यो। त्यसकारण उनको स्मृतिमा मैले उपन्यास लेख्ने कोसिस गरेँ। एक प्रकारले भन्ने हो भने मेरो जलजलाप्रतिको प्रेमको एउटा स्मृति, उपहार पनि हो।’

दुर्गा पौडेल भन्छिन् : मोहनजीको खुसी नै मेरो खुसी
‘का. जलजला’ उपन्यास लेखनमा सिंहकी पत्नी दुर्गा पौडेले पनि धेरै सहयोग गरेकी छन्। नेपालका विभिन्न ठाँउहरुको स्थलगत अध्ययनका साथै कुमाउका कतिपय स्थानहरुमा उपन्यासका सामाग्रीहरु जुटाउन वा त्यहाँ जनसम्पर्क गर्नको लागि पनि उनले धेरै मद्त गरेकी छन्।

यूरोपका कतिपय देशहरुको यात्रामा आफ्ना पती सित सँगै गएको बेलामा उपन्यासका लागि स्थलगत यात्रा गर्न र सामग्रीहरु जुटाउन पनि उनले धेरै मद्त गरेकी सिंह बताउँछन्।

खास गरेर उपन्यासको प्रकाशनमा उनको सहयोग धेरै महत्वपूर्ण रहेको छ। पहिले सिंहले कैयौँ प्रकाशकहरुसित सम्पर्क गरेर त्यो उपन्यास छाप्ने प्रयत्न गरेका थिए तर पछि ती सबै प्रयत्नहरु असफल भए। पछि दुर्गाको पहल कदमीमा नै त्यो उपन्यासको लागि साधन जुटाउनु र प्रकाशित गर्नु सम्भव भएको उनले सुनाए।

सिंह भन्छन्, ‘दुर्गाको पहल कदमी बिना यो पुस्तक प्रकाशित गर्नु सम्भव नै हुने थिएन।’

पुस्तकको प्रकाशन गर्न पाएको सफलताबाट दुर्गा उत्साहित छिन्। भन्छिन्, ‘मोहनजीको खुसी नै मेरो खुसी हो। उहाँले निकै मेहनत गरेर जलजला लेख्नुभयो। प्रकाशन गर्न सकिँदैन कि भन्ने चिन्ता थियो। तर अब त्यो सफल भयो। म अत्यन्तै खुसी छु।’ 

पौडेलले पुस्तकको विमोचनसमेत जलजलाकै आमाबाट हुने सुनाइन्। 

‘यो उपन्यासको विमोचन पनि जलजला दिदीकै आमाबाट गराउँदैछौँ,’ उनले भनिन्, ‘उहाँ (मोहनविक्रम) को चाहना पूरा भएको छ।’

पौडेलले पुस्तक लेख्न र प्रकाशन गर्नसमेत गरी २३ वर्षसम्म मोहनविक्रमले गरेको मेहनतको कुनै मूल्य नभएको दोहोर्‍याइन्। तर, पुस्तकले जीवन र जगतलाई हेर्ने दृष्टिकोण निर्माण गर्ने तथा समाजलाई अगाडि बढाउन महत्त्वपूर्ण योगदान दिने उनको विश्वास छ।

‘यही नै किताबको मूल्य हो’ उनले भनिन्।

यसरी आउँदैछिन् मोहनविक्रमकी जलजला