‘पूर्णबहादुरको सारंगी’ले बनायो सर्वाधिक कमाउने नेपाली फिल्मको रेकर्ड

काठमाडौ । विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘पूर्णबहादुरको सारंगी’ले सर्वाधिक कमाउने नेपाली फिल्मको रेकर्ड राखेको छ। २७ करोड भन्दा धेरै ग्रस कलेक्सन गर्दै यस फिल्मले सर्वाधिक कमाउने नेपाली फिल्मकाे रेकर्ड कायम गरेकाे हाे। 

फिल्म निर्माण टिमले १५ दिनमा नेपालभरिबाट २७ करोड ग्रस कलेक्सन गरेको जनाएको छ। नेपाली इतिहासमा यो कलेक्सन अहिलेसम्मकै उच्च रहेको निर्माणटिमको दाबी छ।

यस फिल्मले बक्सअफिसमा अन्य केही रेकर्डसमेत कायम गरिसकेको छ। यस फिल्मले प्रदर्शनको दोस्रो शनिबार ३ करोड ८९ लाख कमाइ गरेको थियो। शनिबारको व्यापार नेपाली सिनेक्षेत्रमा हालसम्ममै एकदिनको सर्वाधिक कमाइ हो। 

साथै यस फिल्मले अत्याधिक शो पाउने फिल्मको समेत रेकर्ड कायम गरिसकेको छ। साथै विदेशमा पनि यस फिल्मले बक्सअफिसमा नयाँ नयाँ रेकर्ड बनाइसकेको छ। 

यसअघि सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’ थियो। यस फिल्मले लाइफटाइम २५ करोड हाराहारीमा व्यापार गरेको निर्माणटिमले जनाएको थियो। 

तर, एकसाताअघि मात्रै ‘१२ गाउँ’ ले चार सातामा २५ करोड ५० लाख कमाइ गरेको वितरक गोविन्द्र शाहीले जानकारी दिएका थिए। जसअनुसार ‘कबड्डी ४’ को रेकर्ड यस फिल्मले तोडेको थियो। अब भने यी दुबै फिल्मको रेकर्ड ‘पूर्णबहादुरको सारंगी’ ले तोडेको छ। 

रिलिजअगावै चर्चामा रहेको यो फिल्म गन्धर्व समुदायको कथामा आधारित छ। यस फिल्ममा विजयसहित बुद्धि तामाङ, प्रकाश सपुत, अञ्जना बराइली, देशभक्त खनाल, अलिशा बास्कोटा, मुकुन भुसाल, भोलाराज सापकोटाको अभिनय छ।

सरोज पौडेलको कथा र निर्देशन रहेको फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन्। फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्। सेभेन सिजको प्रस्तुति रहेको यो फिल्म एक करोड ३० लाखमा बनेको हो।