काठमाडौ । अमेरिकी सेनाको इन्डो-प्यासिफिक कमान्डका डेपुटी कमान्डर लेफ्टिनेन्ट जनरल जोशुआ एम रुडको नेतृत्वमा ६ सदस्यीय सैन्य टोली शुक्रबार नेपाल आइपुगेको छ।
नेपाली सेनाको निमन्त्रणामा अमेरिकी सेनाको यो उच्चस्तरीय टोली शुक्रबार करिब साढे १२ बजे विशेष विमानबाट काठमाडौँ अवतरण गरेको हो।
टोलीमा ४ जना सैन्य अधिकारी र २ जना क्रु सदस्य छन्। सैन्य टोलीलाई विमानस्थलमा अमेरिकी दूतावासका अधिकारीले स्वागत गरेका थिए।
सुरक्षा अधिकारीहरूका अनुसार सो टोलीले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसहितका अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
‘प्रधानमन्त्री, रक्षामन्त्री र परराष्ट्रमन्त्रीसँग पनि भेटघाटको कार्यक्रम हुनसक्छ’, यो भ्रमणबारे जानकार एक सुरक्षा अधिकारीले भने।
नेपाली सेना र अमेरिकी सेनाबीच सैन्य तालिम लगायतका क्षेत्रमा सहकार्य भइरहेको छ।
यहीबीच पछिल्लो समय अमेरिकी सेनाका उच्च अधिकारीहरू नेपाल भ्रमणमा आउने क्रम बाक्लिएको छ।