कवि राम अधिकारीको ‘सपना र छाया’ कविता सङ्ग्रहहरु विमोचन

काठमाडौ । साहित्यपोस्ट (इ) दैनिकको माउ कम्पनी शब्द मिडिया प्रा.लि.ले प्रकाशन गरेको ‘सपना र छायाहरू’ कवितासङ्ग्रहको विमोचन भएको छ । कवि राम अधिकारीको पहिलो पुस्तकको रूपमा आएको उक्त कविताकृति साहित्यपोस्ट कार्यालयका प्रबुद्ध साहित्यकारहरूका बीच विचोचन भएको हो ।

पुस्तकलाई प्रमुख अथिति प्रा.डा. सुष्मा आचार्य, कार्यक्रम संयोजक प्रा.डा. सनतकुमार वस्ती, कवि राम अधिकारी र साहित्यपोस्टका प्रधानसम्पादक तथा अध्यक्ष अश्विनी कोइरालाले संयुक्त रूपमा विमोचन गर्नुभएको हो ।

विमोचनपछि प्रमुख अथितिका रूपमा बोल्दै सुष्मा आचार्यले कवि अधिकारी आफ्नो सुयोग्य छात्र भएको स्मरण गर्दै त्रिभुवन विश्वविद्यायलमा कविसँग बिताएका दिनहरूको स्मरण गर्नुभयो । भन्नुभयो, ‘राम मेरा विद्यार्थी मात्रै होइनन्, सुयोग्य शिष्य पनि हुन् । अध्ययन सकेको यत्तिका वर्षसम्म पनि हामी गुरुमा र विद्यार्थीभन्दा माथि आमाछोराकै रूपमा प्रेम र वात्सल्यमा छौं । सबै शिक्षकलाई यस्ता सुयोग्य शिष्य प्राप्त गर्ने भाग्य हुन्न ।’

त्रिभुवन विश्वविद्यालयमा ४२ वर्ष प्राध्यापन गरिसक्नुभएकी आचार्यले आफ्ना हजारौं शिष्यहरू मध्ये केही रामहरू विशेष विद्यार्थी भएको स्मरण गर्नुभयो । ‘मैले मेरा सबै विद्यार्थीहरूलाई आफ्ना सन्तानकै रूपमा बौद्धिक पालनपोषण गर्दै आएकी छु । ती मध्ये कवि राम अधिकारी र उनी जस्ता केही विशेष प्रतिभा भएको अनुभव हुन्छ ।’

एक दर्जन पुस्तककी स्रष्टा रहिसक्नुभएकी आचार्यले कवि राम अधिकारीको कवितामा देश प्रेम, भाषा प्रेम र सरल व्यक्तित्वको प्रतिध्वनि भएको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा यस किसिमका कृति ल्याइरहन र अमेरिका बसेर पनि नेपाललाई माया नमार्न सल्लाह दिनुभयो ।

एक दशकयता अमेरिकाको भर्जिनियामा बसोबास गरिरहेका कवि अधिकारी यसअघि पनि पत्रपत्रिकामा कविता र समसामयिक लेख लेख्ने गर्नुहुन्थ्यो । अमेरिका पुगेपछि रोकिएको उहाँको लेखन एक दशकपछि पुनः सक्रिय भएको हो ।
कार्यक्रममा उपस्थित विशिष्ट साहित्यकार एवं साधकहरूलाई पत्रकारिता र समाजसेवी नारायण गिरीले स्वागत गर्नुभएको थियो । आफू साहित्यकार नभए पनि कविसँगै अध्ययन गर्ने सहपाठी भएका नाताले उपस्थित व्यक्तित्वलाई स्वागत गर्न पाउँदा आफू धन्य भएको अनुभव गरिरहेको बताउनुभयो ।

पुस्तकलाई सेन्ट जेभियर्स कलेजका नेपाली विषयका अध्यापक देवेन्द्र पौडेलले समीक्षा गर्नुभएको थियो । समीक्षक पौडेलका अनुसार पुस्तक सरल भाषामा गम्भीर विषय पस्कने कविता कृति भएको बताउँदै यसले नेपालको राजनीति, सामाजिक र यहाँको परिवेश गहिरोसँग समातेको बताउनुभयो । किताबमा राखिएको पहिलो कविता ‘खुसी’ले व्यक्त गरेको मानवीय प्रवृत्तिको उहाँले खुलेर प्रशंसा गर्नुभयो ।

पौडेलका अनुसार कवि अधिकारी अमेरिका बसेर नेपालप्रति नोस्टाल्जिक भएका छन् । कृतिमा कहीँ कतै अमेरिका देखिन सक्छ तर त्यसको अन्तर्यमा पनि नेपालनै भेटिने गरेको छ । एउटा कविका रुपमा कवि अधिकारीको ठूलो सम्भावना रहेको पनि समीक्षक पौडेलको अनुमान थियो ।