उत्साह जगाउने पर्व बडा दसैं

काठमाडौ । दसैंमा दर्शन मात्र छैन, विज्ञान पनि छ। ऊर्जाको विज्ञान ठूलो विज्ञान हो, ज्ञानको विज्ञान अझ ठूलो हो। सबैको विज्ञान मानव मस्तिष्क हो।

प्राकृतिक महाविपत्तिलगत्तै भित्रिएको विजयादशमी पर्वलाई स्वागत गरिरहेका छौं यस वर्ष। असोज १७ गते घटस्थापना भएसँगै आरम्भ भएको नवरात्र उपासना २६ गते टीका, प्रसाद र जमरा वितरण गर्दै उत्कर्षमा पुग्छ। असोज मसान्त कोजाग्रत पूर्णिमासँगै विसर्जित हुँदैछ बडादसैं। दसैंमा दर्शन मात्र छैन, विज्ञान पनि छ। ऊर्जाको विज्ञान ठूलो विज्ञान हो, ज्ञानको विज्ञान अझ ठूलो हो।

सबैको विज्ञान मानव मस्तिष्क हो। र त ज्ञानको प्रतीक महासरस्वती, भोग र योगको प्रतीक महालक्ष्मी अनि संसारलाई खेलौना सरह क्षणभरमै अन्त्य गर्न सक्ने दुर्गा अर्थात् महाकालीको उपासना नै दसैं हो। समग्र ऊर्जाको स्रोत यिनै त्रिदेवी हुन्। असोज ११ र १२ गते जे जस्तो विपत्ति भोग्यौं, त्यसबाट पनि स्पष्ट हुन्छ अदृश्य दैवीसत्ता मानवमात्रको नियन्त्रणभन्दा बाहिर छ। देवीको खास नाम भनेको दुर्गतिनाशिनी नै हो।

हाम्रो देश अध्यात्म र धर्मको विज्ञानसँग जोडिएको देश हो। यो भोगभूमि होइन, योग भूमि हो। कुपात्र असुरहरूमाथि सुपात्र देवताहरूले विजय प्राप्त गरेको हर्षस्वरूप उनै महामाया, जगत्जननी, त्रिपुरासुन्दरी देवी दुर्गाको सम्झना नै दसैं हो। भवरोग नाशिनी दुर्गा भवानीको धर्ती अवतरित दिन चैत्र शुक्ल अष्टमी र उनको भगवतीको रूपमा उदय भएको दिन आश्विन शुक्ल अष्टमी हो।

दुर्गाका धेरै नाम छन्। त्यसमा शैलपुत्रीदेखि सिद्धिदात्रीसम्म मुख्य हुन् र नवरात्रिमा हरेक दिन अलग नामले उपासना गरिन्छ। सप्तशती चण्डीमा देवीका ब्राह्मी, वैष्णवी, कौमारी, बाराही, माहेश्वरी रूपको चर्चा छ। संसारको उत्पत्ति, स्थिति र प्रलय उनैबाट हुने गर्छ। प्रकृति र पुरुषरूपी यो संसारको संहार पनि उनैबाट हुन्छ। देवताहरूसामु प्रार्थनाबाट खुसी भएकी देवीले आफू ब्रह्मस्वरूपिणी भएकीले सर्वत्र एकछत्र रूपमा उनलाई हेर्न भनेकी छन्। उनका दुई प्रमुख स्वरूपमा सवै जीवमा चित्स्वरूप परासत्ता र सबै पदार्थमा जडस्वरूप अपरासत्ता स्विकार्न भनेकी छन्।

दानवमाथि विजय प्राप्त गरेका देवीदेवतालाई ब्रह्म सत्ताको बोध गराउँछिन्। सम्पूर्णमा तेज, ओज र वैभव दिने देवी दुष्टहरूका लागि दुवुद्र्धिका रूपमा र सज्जनहरूका लागि सुमति र सुकीर्तिमा स्थापित हुन्छिन्। शास्त्रहरू प्रतीकात्मक हुन्छन्। सप्तशतीमा वर्णित रक्तबीज मानवमा भएको रक्तदोष हो। रक्तचाप, अनेकौं विकार, कुण्ठा र वैमनस्यता एकपछि अर्को बढ्दै जान्छन्। शुम्भ र निशुम्भ मान्छेको शंका र उपशंका हो। महिषासुर शरीरको बडप्पन, मान, पद, प्रतिष्ठाको बडप्पन हो। चण्ड र मुण्ड मानिसका आवेग र तनावहरू हुन्।

धुम्रलोचन आँखाको दृष्टिभ्रम हो, अज्ञानताको पर्दामा ढाकिँदा ज्ञानरूपीे दीपज्योति प्रकाशित हुन सक्दैन। ज्ञान, विवेक, संयम र तनावरहित जीवनबाट आवेग, क्रोध, ईष्र्या, वैमनस्यताहरू हटेर जान्छन्, आसुरी प्रवृत्तिहरू हट्छन्। यी सबैको बलिदान साँचो बलिदान हो। बलिदान भन्नाले त्याग, समर्पण हो। रगतका थोपाथोपा शुद्धीकरण गर्दै समाजप्रति समर्पण हुनु भनिएको हो। मानवमा भएका ती दुर्बलतालाई बलिदान गरी प्रेम, सदाचार, भाइचारा स्थापित गर्नु हो। घरघरमा वा शक्तिपीठहरूमा बलिदान गर्नुपर्ने हिंसा र क्रोध नै हो।

अष्टमी, नवमीको संकेतले जीवनको ८०, ९० वर्षको संकेत गर्छ। यतिबेला जीवनमा बाँकी रहेका सबै आसुरी भावको बलिदान गरी मोक्ष प्राप्तिको प्रयासका लागि देवीको उपासना भनिएको हो। महागौरीको पूजाको संकेत जीवनको ८०–९० को समयमा पुनः गौरी अर्थात् बाल्यभाव जस्तो हृदय कोमल हुन्छ भनिएको हो। यसर्थ आफ्नो हिंसा आदि भावलाई बलिदानको सट्टा पशुपक्षीजस्ता अबोध प्राणीलाई बलिदान दिनु दया, शान्ति, करुणा, मैत्री चाहने कुनै पनि मानिसका लागि राम्रो हुन्न।

पहिलो दिनको उपासना आफ्नै स्थापना, दोस्रो दिन ब्रह्मचारिणी भनेको सरस्वती, सिर्जना ज्ञानको प्ररम्भ दुई दशकसम्म, तेस्रो दिन चन्द्रघण्टा, ज्ञान र विज्ञानको प्रयोग र प्रचार हुन्छ। चौथो दिन कुष्माण्डा कुत्सित पेटका लागि बचत र भरणपोषण, छैटौं स्कन्दमाता उपासनाबाट बुढ्यौली पाँच दशकपछि अग्रजप्रतिको विश्वास र रुचि बढाउँछ। छैटौं दिन साठीवर्षे समय, जीवनदेखि हार खाएको अनुभूति गर्दै देवी कात्यायनीप्रति हार गुहारको माग गर्ने काम हुन्छ। सातौं दिन कालरात्रि कालपाशमा जान लागेको महसुस गर्दै आफ्नो सट्टा अबोध पशुपन्छी पठाउने तयारी हुन्छ। आठांै महगौरी भन्नाले ८० को उमेर फेरि बच्पन जस्तो व्यवहार हुन्छ भने नवौं सिद्धिदात्रीले आफूले सिद्धि प्राप्तिको महसुस गर्दै दसौं दिन अपराजिताको उपासना गरी आफू शतायुको महसुस गरिन्छ। यसरी सिद्धि प्राप्त गरेकाले आशीर्वाद दिन योग्य भएको सम्झी आशीर्वाद वितरण गर्न अग्रसर गराउने पर्व हो, दसैं।

विधि र प्रक्रिया अनि नवरात्रिको राम्रो उपासना नगरी टीका प्रसाद वितरण गर्न तम्सिनु हुन्न र यसबाट आशीर्वादको सही प्रयोग हुन्न। यसमा मन्त्र शक्तिको विज्ञान पनि छ। नवरात्रिभरि पूजा गरेको दसैंघरमा विजयादशमीका दिन देवी अपराजिताको विशेष पूजा गरी सप्तशती पाठको अन्तिम अध्याय एवं क्षमाप्रार्थनासमेत गरिन्छ। पूर्णपात्र, यथाशक्य दान, हवनादी कार्य गरी विसर्जन पूजापछि आफ्ना मंगलकारी इष्टदेव, कुलदेव, पितृदेवहरूलाई रातो दही अक्षता, फूल, दुबो, जमरा अर्पण गरिन्छ। भिœयाइएको फूलपाती विसर्जनपछि गुरु, पुरोहित मान्यजनका हातबाट मूलघडाको जल अभिषेक गर्दै मंगलसूचक टीकाप्रसाद वितरण आरम्भ गरी विजयादशमीको उत्कर्षणतिर पुगिन्छ।

सर्वत्र शुभकामना, हर्ष, श्री, विजय, उत्साह, उमंग एवं कल्याणको कामना गर्दै टीकाप्रसाद वितरण गरिन्छ। कल्याण होस्, चिरायु रहोस् पशुवाहनादी, हात्ती घोडा बढून, धन्यधान्यले पूर्ण भई ऐश्वर्य वैभवशालीको साथै ईश्वरमा स्थिर भक्ति लागोस् भन्ने शुभकामना दिई परमेश्वर दाहिना होऊन् भनिन्छ। यसरी मान्यजन, सज्जनहरूका हातबाट विधानले टकीाप्रसाद लगाइने र यसरी टीकाप्रसाद दिने सामथ्र्य राख्ने दसैंपर्व विधानमा हेलचेक्र्याई भयो भने निश्चय नै मनोकामना पूर्ण हुँदैनन्, सिद्धि प्राप्त हुँदैन।

विजयादशमीलाई टाढा रहेका आफन्तको भेटघाट र संयोगको रूपमा पनि लिने गरिन्छ। मुलुकको भौगोलिक बनावट, टाढारहेका आफन्तहरूको समेत ध्यान राखी दसैंको जमरा, टीका र प्रसाद ग्रहण गर्ने समय झन्डै कोजाग्रत पूर्णिका दिनसम्म कायम राखी दसैंलाई १५ दिने लामो समयपछि विसर्जन गरिन्छ।