एमालेका नेताहरुले गरे ‘प्रचण्ड’सँग भेट: काठमाडौको नदी किनाराका जग्गाका बारे छलफल

काठमाडौँ । नेकपा एमालेका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्। बिहीबार दिउँसो खुमलटार पुगेर एमाले बागमती प्रदेश इन्चार्जको नेतृत्वमा काठमाडौं जिल्लाका इन्चार्ज र पालिका इन्चार्जहरू, जिल्लाका अध्यक्षलगायत पदाधिकारीहरूको प्रतिनिधि मण्डल खुलमटार पुगेका हुन्।

‘प्रचण्ड’लाई भेटेर नदी किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले जारी गरेको परिपत्रको विषयमा छलफल गरेको एमाले नेता राजन भट्टराईले बताए।

अदालतको फैसलाका कारण उत्पन्न समस्याका विषयमा सरकार पुनरावलोकनमा जानपर्ने विषयमा सहमति जनाउँदै ‘प्रचण्ड’ले जनसरोकारका विषयमा माओवादीको समर्थन रहने प्रतिबद्धता रहेको जनाए। त्यसबारे आफ्नो दलबाट औपचारिक निर्णय गरेर सरकारले भ्याकेटमा जाँदा समर्थन जनाउने प्रचण्डले प्रतिबद्धता जनाएको उनले बताएका छन्।

भेटमा ‘प्रचण्ड’ले नदी किनाराका जग्गाका सम्बन्धमा देखिएको समस्या सम्बन्धी पार्टीको बैठक बसेर धारणा सार्वजनिक गर्ने जनाएको एमालेका नेता आनन्द पोखरेलले बताए।

उनले एमाले नेताहरूसँगको भेटमा बालेनले व्यवहारिक कुरालाई भन्दा लोकप्रियतालाई हेर्ने गरेको टिप्पणी गरेको पनि नेता पोखरेलले जनाए। यो विषयलाई लिएर एमालेका नेताहरू नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवासमा पनि पुगेका थिए।