अमेरिकामा मुनालाई एक वर्षदेखि पछ्याइरहेको थियो कसैले

काठमाडौ । अमेरिकाको टेक्सस राज्यस्थित ह्युस्टनमा गोली हानी मारिएकी नेपाली छात्रा २१ वर्षीया मुना पाण्डेलाई मारिनुअघि एक वर्षदेखि कसैले पछ्याइरहेको खुलासा भएको छ। 

उनका साथी दीपेन्द्र कुँवरले मुनाले एक वर्षअघि आफूलाई कसैले निरन्तर पछ्याइरहेको भनी सहयोग मागेको बताएका हुन्।

‘उनले त्यसबेला कुनै व्यक्ति झ्यालमा आएका छन् भनेकी थिइन्, कसैले उनलाई पछ्याइरहेको थियो’, क्लिकटुह्युस्टन डटकमसँग कुँवरले भनेका छन्, ‘झ्याल र ढोका आसपास हिँडिरहन्थ्यो, त्यसैले उनले मलाई बोलाएकी थिइन्, प्रहरीलाई पनि बोलाएका थियाैँ।’

त्यसपछि पाण्डेलाई उनले अपार्टमेन्ट बाहिर सर्भिलेन्स क्यामेरा राख्न सहयोग गरेका थिए। क्यामेरा राखेपछि भने ती व्यक्ति त्यहाँ देखिन छाडेको कुँवरले बताएका छन्। तर ती व्यक्ति को थिए भन्ने चिन्न नपाएको उनको भनाइ छ।

क्यामेरा राखेयता मुनाको सुरक्षाबारे आफूलाई त्यति चिन्ता नलागेको कुँवरले बताएका छन्। तर यही अगस्ट २६ तारिख साँझ पाण्डे आफ्नै अपार्टमेन्टमा गोली लागेको अवस्थामा मृत भेटिइन्।

सीसीटीभी फुटेजका आधारमा प्रहरीले ५१ वर्षीय बब्बीसिंह शाहलाई पक्राउ गरिसकेको छ। हाल उनी प्रहरीको हिरासतमा छन्।