टान निर्वाचन नजिकिदै : पाण्डे र सापकोटा भिड्दै

ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सी एसोशिएसन अफ नेपाल टानको नयाँ कार्य समितिका लागि यही भदौ १७ गते साधारण सभा हुँदैछ। निर्वाचनमा भाग लिन दुई वटा प्यानल खडा भएको छ।

सागर पाण्डे र राजेन्द्र सापकोटा समूहले आ–आफ्नो प्यानल सहित उम्मेदवारी दर्ताको तयारी थालेका छन्। आगामी शुक्रबार मनोनयन दर्ताको कार्यतालिका रहेको टानले जनाएको छ। 

मनोनयन दर्ता नहुँदै एक हप्ता देखि दुवै प्यानलमा रहेका उम्मेदवारहरू आक्रामक प्रचार प्रसार तथा आन्तरिक भेटघाट गर्दै मत माग्नमा व्यस्त छन्। 

देशभर २४ सय भन्दा बढि ट्रेकिङ कम्पनीहरू दर्ता भई सञ्चालनमा छन्। कम्पनी दर्ता गरि टान निर्वाचनमा मतदान गर्न योग्य मतदाताहरुको संख्या १ हजार ४ सय ३८ छन्। यी मतदाताहरूले सन् २०२४ देखि ०२६ सम्मका लागि आफ्नो छाता संगठनको नेतृृत्व चयन गर्न लागेका हुन्।

पर्यटन क्षेत्रको सबैभन्दा बलियो र वृहत संगठन मानिने टानको नयाँ नेतृत्वमा कसलाई छान्ने भन्नेमा अहिले मतदाताहरुमा चर्चा र छलफल चलिरहेको छ।

राजेन्द्र सापकोटा समूहलाई एमाले र कांग्रेसको संस्थापन पक्षको समर्थन छ भने सागर पाण्डे समूहलाई काँग्रेसको संस्थापन इतर समूह, माओवादी, रास्वपा, एकीकृत समाजवादी सहित स्वतन्त्र ट्रेकिङ व्यवसायीहरुको समर्थन छ। 

सागर पाण्डे समूहमा वरिष्ठ उपाध्यक्षका लागि चोलेन्द्र बहादुर कार्की, प्रथम उपाध्यक्षका लागि दावा लामा तामाङ, द्धितिय उपाध्यक्षका लागि निशेष थापा, महासचिवमा सोनाम ग्याल्जेन शेर्पा, सचिवमा सजना त्रीपाठी, कोषाध्यक्षमा गणेश प्रसाद न्यौपाने, सहकोषाध्यक्षमा डम्बर अधिकारी उम्मेद्वार रहेका छन्।

यस्तै सदस्यहरूमा सृष्टि भण्डारी, अम्बिर गुरुङ, माधवकुमार धमला, विनोद कुमार तामाङ, मेरे कार्की, होम बहादुर विश्वकर्मा, शिवप्रसाद शिलवाल, उत्सव ढकाल र फुर्पुछिरिङ ल्होमी(भोटे) उम्मेदवार छन्। 

राजेन्द्र प्रसाद सापकोटा प्यानलमा वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णु प्रसाद लम्साल, द्धितीय उपाध्यक्षमा सनम शेर्पा, महासचिवमा राजेन्द्र प्रसाद सुवेदी रहेका छन्। यस्तै, सचिवमा रिन्जीजाङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले, सहकोषाध्यक्षमा लाक्पा रिन्जी शेर्पाको उम्मेद्वारी रहेको छ। यस्तै सदस्यहरुमा पवित्रा तामाङ, सागर राई, सुमन अर्याल, विश्व दाहाल, दिनेश तिम्सीना, राजु गुरुङ, छप्ते लामा, भुवनबहादुर खड्का दावा लामा रहेका छन्। 

टानमा कसको होला पल्लाभारी?
टानको नयाँ कार्य समितिको निर्वाचन यस पटक रोचक तथा प्रतिस्पर्धात्मक हुने देखिन्छ। सन् २०२२ मा भएको टान निर्वाचनमा कांग्रेस एमाले समर्थित पर्यटन व्यवसायीहरुको समीकरण बनेको थियो।

जस अनुसार कांग्रेस निकट नीलहरि बास्तोला अध्यक्षका उम्मेदवार बनेका थिए। बास्तोलाकै प्यानल विजयी भएको थियो। सोही समयमा सन् २०२४ मा हुने निर्वाचनमा एमालेसंग नेतृत्व आलोपालो हुने भनि गरिएको गोप्य सम्झौता उम्मेदवार छनौटको समयमै सार्वजनिक भएपछि काँग्रेस पक्षका थुप्रै पर्यटन व्यवसायीहरू बिच्कीएका थिए।

टानको आगामी अध्यक्षका उम्मेद्वारको दावी गरिरहेका चोलेन्द्रबहादुर कार्की लगायतको ठूलो समूह एमालेसँगको समीकरण तोड्दै अर्काे प्यानलमा मिसिन आएको हो। विद्रोही समूहको नेतृत्व गर्दै सागर पाण्डे समूहमा आएका कार्कीले केही व्यक्तिहरूले टानलाई गोप्य सम्झौताको नाममा बन्धक बनाउन खोजेको आरोप लगाएका छन्।

उनले भने, ‘काँग्रेस एमाले समर्थित पर्यटन संगठनमा एक दुई जना व्यक्तिहरुले कागजी सम्झौता गरि सन् २०२६ मा हुने टानको अर्काे निर्वाचनमा समेत को अध्यक्ष हुने भनेर नाम लेखिसकेका छन्। यसले व्यवसायीक पर्यटन व्यवसायी र लोकतान्त्रीक विधि पद्धतीको मानमर्दन गरेको छ। टान कसैको सिण्डीकेटमा चल्न हुन्न भन्ने उद्देश्यले नै हामीले व्यवसायीक पर्यटन व्यवसायीहरुको समूह बनाएका हौँ।’

कांग्रेस समर्थित व्यवसायीहरुको समेत बलियो साथ पाएपछि सागर पाण्डे उत्साहित छन्। उनको समूहमा रास्वपा सहित कुनै दल विशेषमा नलागेका स्वतन्त्र व्यवसायीहरुको समर्थन देखिन्छ। कुनै दल विशेषमा नरहेकी सजना त्रीपाठीले पाण्डे समूहमै सचिव पदमा उम्मेदवारी दिएकी छिन्। 

सजनाले भनिन्, ‘म स्वतन्त्र पर्यटन व्यवसायीहरुको प्रतिनिधित्व गरी सागर पाण्डे समूहमा उम्मेदवारी दिएकी छु।’ 

यो समूहमा व्यवसायीक पर्यटन व्यवसायीहरुको प्रतिविम्ब रहेको सजनाको दावी छ। अध्यक्षका उम्मेद्वार सागर पाण्डेले आफ्नो समूहमा समक्ष व्यक्तिहरुको ‘कम्प्लीट प्याकेज’ रहेको दावी गरेका छन्।

उता राजेन्द्र सापकोटा समूहमा अध्यक्षको टिकट एमालेले पाएको हो भने वरिष्ठ उपाध्यक्षमा काँग्रेसबाट कर्मा शेर्पाले उम्मेदवारी पाएका छन्। कर्मा शेर्पा कांग्रेस सोलुखुम्बुको प्रदेश ख को क्षेत्रीय सभापति समेत हुन्।

यस्तै, सापकोटा समूहमा महासचिवको उम्मेदवारी काँग्रेसकै राजेन्द्र प्रसाद सुवेदीले पाएका छन्। 

हिमालयन ग्लेसियर ट्रेकिङ प्रा.लि.का मालिक रहेका पाण्डेको काठमाडौँमा मात्रै एक दर्जन भन्दा बडी पर्यटन सम्वद्ध व्यवसायहरू संचालनमा छन्।

हिमालयन ग्लेसियर कम्पनी नेपालको सर्वाेत्कृष्ट १० ट्रेकिङ कम्पनीभित्र पर्दछ।