गृहमन्त्री र भारतीय राज्यमन्त्री बीच भेटवार्ता: मृतकहरुको शव लिन भारतीय जहाज आउने

काठमाडौं। गृहमन्त्री रमेश लेखक र भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्सेबीच भेटवार्ता भएको छ।

शनिबार गृहमन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो । शुक्रबार पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहराबाट भारतीय बस मर्स्याङ्दी नदीमा खसेपछि भएका घाइतेको अवस्था बुझ्न काठमाडौँ आएकी भारतीय राज्यमन्त्री खडसे गृहमन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेटवार्ता गरेकी हुन्।

यसअघि दुवैले शिक्षण अस्पताल महाराजगंज पुगेर घाइतेको अवस्था बारे जानकारी लिएका थिए।

सो दुर्घटनामा २७ जना भारतीय यात्रीको मृत्यु भएको थियो भने १६ जना घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।

भेटवार्तामा घाइतेहरुको उपचार, मृत्यु भएकाहरुको शव भारत पठाउनेलगायतका विषयमा छलफल भएको बताइएको छ। बस दुर्घटनामा मृत्यु भएकाहरुको पोस्टमार्टम सकिएको बताइएको छ।

मृतकहरुको शव लिन भारतीय एयरफोर्सको जहाज नेपाल आउने भएको छ।