धादिङ सहित देश भर गाईजात्रा पर्व मनाइयो

 
धादिङ । धादिङ सहित देश भर्का नेवार समुदायहरुले वर्ष दिनभरि दिवंगत आफन्तको चिरशान्तिको कामना गर्दै गाईजात्रा मनाएका छन् । धादिङको सदरमुकाम धादिङबेसीमा पनि यो वर्ष भरि दिवंगत भएका ६ जना व्यक्तिहरुको सम्झनामा गाईजात्रा निकालिएको थियो ।परम्परागत रुपमा निकालिएको गाईजात्रा धादिङबेसी बजार परिक्रमण गराइएको थियो ।एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसो गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ।

धादिङबेसी लगायत धादिङबेसी, मैदि सातदोबाटो, सल्यानटारमा रानिपौवा र सिकटार, खरी, फ्याक्से, सुनौलाबजार लगायतको क्षेत्रमा पनि नेवार समुदायले गाईजात्रा पर्व मनाएका छन् ।गाई जात्राको अवसरमा बागमती प्रदेश सरकारले मंगलबार प्रदेशमा सार्वजनिक विदा दिएको थियो । राजा प्रताप मल्लले आफ्नो छोराको मृत्यु भएपछि भावविह्वल भएकी रानीलाई मनाउन जात्रा निकाल्ने प्रचलन सुरु गरेको मान्यता छ।झिंगु नेवाः समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार भाद्र ५ गते हिले जात्राको दिन दिउँसो २ बजे देखि धादिङ बेसी बिचबजार क्याम्पस चोक देखि साघुटार पुल्चोकसम्म खेत रोपाइको अभिनय गर्दै लाखे सहित परिक्रम गरिने, भाद्र ११ गते दिउँसो २ बजे देखि सुगमटोल स्थित श्री राधाकृष्ण मन्दिरबाट भगवान श्री कृष्णको रथ यात्रा निकाली लाखे सहित बजार परिक्रमा गरिने कार्यक्रम रहेको छ ।

भाद्र २१ गते हरितालिका तिजको अवसरमा धादिङबेसी बिच बजार चोकमा लाखे नाँच नचाइने र भाद्र २२ गते विहान साढे ७ बजे बिचबजार चोक स्थित गणेश मन्दिर अगाडी यो वर्षको लागि लाखे जात्रा विधिवत रुपमा समापन गरिने आयोजकले जनाएको छ ।धादिङमा वि स २०६२ सालमा नेवार समुदायको आधिकारीक जिल्ला स्तरीय संस्था झिंगु नेवाः समाज, धादिङ स्थापना भएपछि सोहि संस्थाको पहलमा विभिन्न स्थानहरुमा लाखे जात्रा सञ्चालन हुदैं आएको छ ।