धादिङ बेसीमा भोलि देखि लाखे जात्राको सुरुवात

धादिङ । जिल्लाको सदरमुकाम स्थित धादिङबेशीमा भोली देखि नेवार समुदायको प्रमुख चाड लाखे जात्रा सुरु हुँदैछ । झिंगु नेवाः समाज धादिङको आयोजनामा जनै पुर्णिमाको दिन अर्थात् भोलिदेखी धादिङबेसीमा लाखे जात्रा सुरु हुने समाजका अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो ।

आईतबार पत्रकार सम्मेलन गरी भोलि विहान ७ः३० बजे धादिङबेसी बिचबजार चोक स्थित गणेश मन्दिरबाट जात्राको शुभारम्भ गर्न सबै तयारी पुरा भएको श्रेष्ठले जानकारी दिनुभयो ।

विगतमा लाखेजात्रा पञ्चेबाजा बजाई लगाउदैं आएको भएता पनि संस्कृती, परम्परा, पहिचानलाई मध्ये नजर गर्दै धादिङबेसी बजारमा नेवार समुदायको आफ्नै बाजा बजाई परम्परागत शैलीमा लाखे जात्राको सुरुवात गरिन श्रेष्ठले बताउनुभयो ।

जात्रा धादिङबेसी बिचबजार क्याम्पस चोक देखि नीलकण्ठ नगरपालिका ८ साघुटार पुल्चोक सम्म, मुल सडक र भित्री सडकहरुसम्म परिक्रमा गरिनेछ ।

झिंगु नेवाः समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार भाद्र ४ गते गाइजात्राको अवसरमा विहान ७ः३० बजे यस वर्ष मृत्यु हुनुभएका ६ जना नेवार समुदायका मृतकको फोटो सहित गाई निकालिनेछ भने दिउसो २ः०० बजे देखि मृतक परिवारको घरसम्म लाखे सहित गाई जात्रा परिक्रमा गरिनेछ।

त्यसैगरी भाद्र ५ गते हिले जात्राको दिन दिउसो २ः०० बजे देखि धादिङ बेसी बिचबजार क्याम्पस चोक देखि साघुटार पुल्चोकसम्म खेत रोपाइको अभिनय गर्दै लाखे सहित परिक्रम गरिने, भाद्र ११ गतेदिउसो २ः०० बजे देखि सुगमटोल स्थित श्री राधाकृष्ण मन्दिरबाट भगवान श्री कृष्णको रथ यात्रा निकाली लाखे सहित बजार परिक्रमा गरिनेछ ।

भाद्र २१ गते हरितालिका तिजको अवसरमा धादिङ बेसी बिच बजार चोकमा लाखे नाँच नचाइने र भाद्र २२ गते विहान ७ः३० बजे बिचबजार चोक स्थित गणेश मन्दिर अगाडी लाखे जात्रा विधिवत रुपमा यो वर्षको लागि समापन गरिने श्रेष्ठले बताउनुभयो ।

नेवार समुदायको विशेष जात्राको रुपमा लाखे जात्रा जिल्लाको प्रमुख बजारहरु तथा निलकण्ठ नगरपालिकाको वडा नं. ३ को शितलबजार बजार लाखे समुह र धादिङ बेसी लाखे समुह, वडा नं. ५ को फ्याक्से, वडा नं. ६ को सुनौलाबजार, वडा नं. ११ को ज्यामरुङ दरबार र सिम्ले बजार, वडा नंं. १४ को भंगेरीस्थान र अम्बोटेमा हुने भएकोले हरेक जात्रा दिन दिनको २ः०० बजे देखि राति ९ः०० बजेसम्म सञ्चालन हुने हुदाँ स्थानिय प्रशासन, नगरपालिका, तथा सम्पूर्ण धादिङबासी जनसमुदायहरुलाई सहयोग र सहभागितको लागि झिंगु नेवाः समाज, धादिङले अनुरोध गरेको छ ।

स्थानिय नेवार समुदायहरुद्वारा जिल्लाको प्रमुख बजारहरुमा लाखे जात्रा लगाउदै आएकोमा २०६२ सालमा नेवार समुदायको आधिकारीक जिल्ला स्तरीय संस्था भिंmगु नेवाः समाज, धादिङ स्थापना भएपछि सोहि संस्थाको पहलमा विभिन्न स्थानहरुमा सञ्चालन हुदैं आएको छ ।

लाखे जात्रा नेवार समुदायको आफ्नो मौलिक जात्रा हो । राजा गुणकाम देवको पाला देखि लाखे जात्रा सुरु गरिएको भएता पनि राजा प्रताप मल्लको पाला देखि राक्षसको स्वरुपमा मुकुट लगाई कालिकाको वस्त्र धारण गरि लाखे नाँँच नाच्ने गरिएको पाइन्छ ।

काठमाण्डौं उपत्यकाबाट सुरु भएको यो जात्रा नेपाल अधिराज्यभर नेवार वस्तीहरुमा हुने गरेको छ । विभिन्न पर्वहरुमा मात्र नभएर मेला महोत्सवहरुमा समेत आफ्नो जातिय पहिचान झल्कने भेष भुषा सहित सहभागी हुने गरेको छ ।

विशेष गरि लाखे नाँच हरेक वर्ष रक्षावन्धनको दिन देखि सुरु भई गाइजात्रा, रोपाई जात्रा, श्री कृष्ण रथ यात्रा सकेर तिज पर्वको भोलिपल्ट चतुर्थी (चौथी) को दिनमा भगवान श्री कृष्णको भेषमा सजिएका काल्पनिक कृष्णद्वारा लाखेलाई खड्गले शिर छेदन गरेर मार्ने गरिन्छ । लाखे मारे पछि यस वर्षको जात्रा समापन भएको मानिन्छ ।

स्रोत : रेडियो एफ एम