रुबीभ्यालीमा जनैपुर्णिामाको दिन ‘कालो दह’ र ‘सिङ्ल्हा’मा विशेष पुजापाठ तथा मेला

योगेन्द्र तामाङ

धादिङ । उत्तरी धादिङ रुबीभ्याली गाउँपालिकामा अवस्थित धार्मिक एवं पर्यटकीय स्थल ‘कालो दह’ र ‘सिङ्ल्हा’मा जनैपूणिर्माको दिन विषेश पुजापाठ गरिन्छ ।
भक्तजनहरु आफ्नो मनोकामना पुरा गर्नको लागि दर्शन गर्न पुग्ने गर्दछन ।
राज्यको निकायबाट आँखामा नपरेको र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको हिन्दु र बौद्द धर्मावलम्बीहरुको धार्मिक शक्तिशाली पिठस्थलको रुपमा मान्दै आएको ‘कालो दह’को कथामा गोसाइँकुण्डको देवताको बासस्थलको रुपमा पाइन्छ । त्यस्तै जनैपूणिर्माको दिन ‘कालो दह’मा स्थानीय झाँक्रीहरुद्वारा विषेश पुजा पाठ गर्ने गरिन्छ । कालो दहको छेउमै अर्को सेतो दह पनि रहेको छ । ‘कालो दह’ को शक्ति बारे किम्पदन्ति कथाको वृत्तचित्र निर्माण समेत गरिएको छ ।
सम्बन्धित निकायले राजधानी काठमाडौंबाट यति नजिकै रहेको यस्ता ओझेलमा परेका धार्मिक पिठ स्थलहरुलाई पर्यटन प्रवर्द्धन एवं सम्बर्द्धन गर्नुपर्ने देखिन्छ ।
त्यस्तै अर्को धार्मिक स्थल ‘सिङ्ल्हा’मा पनि जनैपूणिर्माका दिन झाँक्री र लामाद्वारा विषेश पुजा पाठ गरिन्छ । यसदिन हजारौं भक्तजनहरुको उपस्थिति सहित ठुलो मेला लाग्ने गर्दछ । रुबी भ्याली गाउँपालिका, खनियाबास गाउँपालिका र नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिकाको साँधमा अवस्थित ‘सिङ्ल्हा’ धार्मिक पिठको रुपमा मानिदै आएको छ । विषेशगरी यहाँ भक्तजनहरु आफ्नो मनोकामना पुरा गर्नको लागि दर्शन गर्न पुग्ने गर्दछन । साथै आफ्नो मौलिक पहिरन सहित गीत गाउँदै नाचगान समेत गर्ने गर्दछन् । सिङ्ल्हाको बारे विस्तृतमा वृत्तचित्र निर्माण समेत भैसकेको छ । यस्ता एतिहासिक पौराणिक धार्मिक स्थलहरुलाई संरक्षण सम्बर्द्धन गर्नुका साथै प्रवर्द्धन गर्नुपर्ने देखिन्छ ।