रास्वपाका सांसद र नेताले ५ दिन सम्म निजी गाडी थन्क्याएर सार्वजनिक यातायात चढ्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद र केन्द्रीय सदस्यहरूले शनिबारबाट पार्टी कार्यालय चमतीमा निजी गाडी छोडेका छन् ।

पार्टी कार्यालयमा निजी गाडीहरू छोडेर नेता तथा सांसदहरूले पाँच दिनसम्मलाई सार्वजनिक यातायात चढ्न थालेका छन् ।

आइतबार तनहुँमा भएको कार्यक्रममा उपसभापति डा. स्वर्णिम वाग्ले, सांसदहरू शिशिर खनाल, गणेश पराजुली पुगेका छन् । उनीहरूले त्यहाँ जान पनि सार्वजनिक यातायात प्रयोग गरेका हुन् ।

शनिबार पार्टीको बन्द कार्यशाला सकेर सम्पूर्ण नेता तथा सांसदहरू सार्वजनिक यातायातमै घर फर्किएको रास्वपा सचेतक निशा डाँगीले खबरहबलाई बताइन् ।

आइतबार पार्टी उपसभापति डोलप्रसाद अर्याल पनि सार्वजनिक यातायात चढेर त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भइरहेको खेल हेर्न पुगेका छन् ।

दशरथ रङ्गशालामा आइतबार नेपाल र इरानबीचको भलिबल खेल भइरहेको छ। सभापति रवि लामिछाने भने आइतबार घरमै आराम गरिरहेको उनको सचिवालयका एक सदस्यले खबरहबलाई बताए ।

सार्वजनिक यातायातको अवस्था बुझ्न र सर्वसाधारणले भोगिरहेका समस्या नजिकबाट नियाल्न आफूहरूले सार्वजनिक यातायात पाँच दिनसम्म चढ्ने अभियान चलाएको उपसभापति अर्याल बताउँछन् ।

उनले सभापति लामिछानेसहित अन्य सबै नेताहरूले सार्वजनिक यातायात चढ्ने बताए ।

डाँगीले पनि सार्वजनिक यातायातमा नागरिकका दु:ख नजिकबाट नियालेर व्यवस्थापनका उपाय खोज्न रास्वपाले यो अभियान चलाएको बताउँछिन् ।

रास्वपाको अभियान आगामी बुधवारसम्म सञ्चालन हुनेछ।