इजरायल र इरान प्रत्यक्ष युद्धको खतरामा

काठमाडौं । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले हमास नेता इस्माइल हानियाको कायरतापूर्ण हत्याका लागि इजरायल पछुताउने सुनिश्चित गर्ने बताएका छन्।

मसूदले इरानले आफ्नो क्षेत्रीय अखण्डता र सम्मानको रक्षा गर्ने पनि बताए। समाचार एजेन्सी एएफपीका अनुसार मसूदले हानियालाई साहसी नेताको रूपमा वर्णन गरे।

हमासका शीर्ष नेता हानिया कतारमा बस्दै आएका थिए र मसुद पेजेस्कियानको सपथ ग्रहण समारोहमा भाग लिन तेहरान गएका थिए।

यसैबीच इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले पनि हानियाको मृत्युको बदला लिनु इरानको कर्तव्य भएको बताएका छन् ।

खामेनीले आफ्नो आधिकारिक एक्स ह्यान्डलबाट हानियाका लागि धेरै पोस्टहरू पनि गरेका छन् ।

आफ्नो एउटा पोस्टमा उनले लेखेका छन्, ‘धेरै वर्षदेखि चलिरहेको यो लडाइँका लागि शहीद हानिया आफ्नो ज्यान बलिदान दिन तयार थिए । यसका लागि उनले आफ्ना सन्तान र आफ्ना सबै प्रियजनहरूको बलिदानसमेत दिए।’

खामेनीले अर्को पोस्टमा लेखेका छन्, ‘अपराधी र आतंकवादी इजरायलले हाम्रा प्यारा पाहुनालाई हाम्रै भूमिमा मारिदियो। यसले हामीलाई पीडा दिएको छ र यो इजरायललाई कठोर सजाय दिने कारण पनि बन्नेछ।”

हमासका नेता इस्माइल हानियाको मृत्युमा विभिन्न देशले पनि आ–आफ्ना प्रतिक्रिया व्यक्त गरिरहेका छन् ।

जोर्डनले इजरायलको हातबाट हमास नेताको हत्याको कडा निन्दा गरेको छ। यसले थप तनाव र अराजकता सिर्जना गर्ने उसले चेतावनी दिएको छ।

लेबनानले पनि इस्माइल हानियाको हत्याको निन्दा गरेको छ । देशका प्रधानमन्त्री नजिब मिकातीले आज बिहान आफ्नो मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाए ।

चीनको विदेश मन्त्रालयले यो हत्याको कडा विरोध गरेको र यस क्षेत्रमा थप अशान्तिको चिन्ता व्यक्त गरेको बताएको छ।

प्रवक्ता लिन जियानले गाजाभरि स्थायी युद्धविराम हुनुपर्ने बताए। कतारले हानियाको हत्यालाई गम्भीर अपराध भन्दै निन्दा गरेको छ ।

कतारको विदेश मन्त्रालयले यसलाई अन्तर्राष्ट्रिय र मानवीय कानुनको उल्लङ्घन भएको भन्दै हत्या र सर्वसाधारणलाई निरन्तर निशाना बनाएर यस क्षेत्रलाई थप अराजकतामा डुबाउने र शान्तिको सम्भावनालाई कमजोर बनाउने चेतावनी दिएको छ।

इजरायलले हमासका नेता इस्माइल हानियाको मृत्युबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।