रुस र चीनले पहिलो पटक अमेरिकाको अलास्का नजिक संयुक्त गस्ती गर्न थाले

अन्तरास्ट्रिय खबर । रुस र चीनले उत्तरी प्रशान्त महासागर र अलास्का नजिक बेरिङ सागरमा संयुक्त गस्ती गरेका छन्।

यी दुवै देशले यसअघि पनि पटकपटक यस्तो गरेका छन् । रुसले बेरिङ सागरको वरिपरि लगातार आफ्ना लडाकु विमान उडाउँदै आएको छ।

तर बुधबार गरिएको गस्तीमा चीन र रुसका लडाकु विमानहरू पहिलो पटक प्रशान्त महासागर क्षेत्रमा सँगै देखिएका छन् ।

गस्तीबारे रुस र चीन दुवैले ‘कुनै तेस्रो पक्षलाई लक्षित गर्न यस्तो नगरिएको’ भनेका छन्।

यूएस-क्यानेडियन उत्तर अमेरिकी एयरोस्पेस डिफेन्स कमाण्डले भनेअनुसार उनीहरूले यी विमानहरूलाई रोकेका थिए, तिनीहरू अन्तर्राष्ट्रिय एयरस्पेसमा थिए र तिनीहरूलाई खतराको रूपमा हेरिएको थिएन।

तर अलास्का सिनेटर लिसा मुर्कोस्कीले दुवै देशको गस्तीलाई उत्तेजक कदम भनेकी छन्।

चीनले यो गस्तीको वर्तमान अन्तर्राष्ट्रिय र क्षेत्रीय अवस्थासँग कुनै सम्बन्ध नरहेको बताएको छ ।

फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेपछि पश्चिमी देशहरूले रुसमाथि धेरै प्रतिबन्धहरू लगाएका थिए। त्यसपछि चीन र रुसबीच निकटता बढेको छ ।