रुवीभ्यालीका पर्यटन व्यवसायीहरू बीच पालिकाको पर्यटन क्षेत्रको बिकास गर्न छलफल

काठमाडौं । रुबीभ्यालीका पर्यटन व्यवसायीहरू बीच बिहिवार काठमाडौमा एक महत्वपूर्ण छलफल भएको छ।
छलफलमा पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, सांस्कृतिक सम्पदा, आर्थिक विकास, र पर्यटन नीतिहरूका विषयमा विस्तृत रूपमा छलफल भएको थियो ।

यस छलफलमा बागमती प्रदेशका योजना आयोजनाका सदस्य दिपेन्द्र श्रेष्ठ पनि सहभागी रहेका थिए।
पर्यटन प्रवर्द्धन र चुनौतीहरू सत्रमा, व्यवसायीहरूले पर्यटन प्रवर्द्धनका नयाँ उपायहरूको खोजीमा जोड दिए। डिजिटल मार्केटिङ, सामाजिक सञ्जालको प्रयोग, र भर्चुअल टुरहरूलाई प्राथमिकता दिने योजना बनाइएको छ। साथै, पर्यटकहरूको घट्दो संख्यालगायतका चुनौतीहरूको समाधानका लागि प्रभावकारी रणनीतिहरूमा छलफल भएको प्रदिप तामाङले जानकारी दिए ।

पूर्वाधार विकास र पर्यावरणीय स्थिरता सत्रमा, पर्यटक सुविधाहरू सुधार गर्न उच्च गुणस्तरका आवास, सफा खानेपानी, र स्वास्थ्य सेवाहरूको उपलब्धतामा जोड दिइयो। वातावरण संरक्षणका लागि वातावरणमैत्री प्रथाहरू र प्लास्टिकको प्रयोग घटाउने योजना प्रस्तुत गरियो। भौतिक पूर्वाधारको विकास र स्थानीयलाई गाउँ फर्किन प्रोत्साहित गर्ने पहलहरू पनि छलफल गरियो।

सांस्कृतिक सम्पदा र पर्यटन सत्रमा, स्थानीय कला, संस्कृति, र परम्पराको संरक्षण र प्रचारमा विशेष ध्यान दिइयो। सांस्कृतिक पर्यटनको सम्भावनालाई उजागर गर्दै विशेष प्याकेजहरू विकास गर्ने योजनाहरू प्रस्तुत गरियो।

आर्थिक विकास र रोजगारी सत्रमा, स्थानीय उत्पादनहरूको प्रवर्द्धन र कृषि पर्यटनलाई प्राथमिकता दिइयो। पर्यटनमा आधारित तालिम कार्यक्रमहरू र नयाँ रोजगार सिर्जनाका अवसरहरूबारे छलफल भयो। समावेशी आर्थिक विकासका उपायहरूमा सबै समुदायलाई समेट्ने योजनाहरू अघि सारिएको थियो ।

पर्यटन नीतिहरू र नियमन सत्रमा, सरकारी नीतिहरूको प्रभावकारिता र नियमन तथा कानूनको कार्यान्वयनमा सुधार गर्न विशेष ध्यान दिइयो। निजी क्षेत्रको भूमिका र साझेदारी कार्यक्रमहरूबारे पनि महत्वपूर्ण छलफल भएको थियो ।

रुबीभ्यालीमा १५०० मि.देखि ७४०० मि.सम्मको क्षेत्रको प्राकृतिक स्रोतहरूको संरक्षण र अनुसन्धान, तथा जनचेतना कार्यक्रमहरूलाई प्राथमिकता दिने योजनाहरू अघि सारिएको थियो ।
रुबीभ्यालीमा किरा देखि हिरा सम्म पाईने ठाँउको अपार सम्भावना रहेको भए तापनि यो क्षेत्र पर्यटनमय हुन नसकेकोमा नेपाल सरकारलाई ध्यानाकर्षण गराइएको छ।