गाजा-इजरायल युद्धविराम सम्बन्धी अमेरिकी प्रस्तावलाई संयुक्त राष्ट्र सुरक्षा परिषदद्वारा समर्थन

काठमाडौं । गाजा–इजरायल युद्धविरामबारे अमेरिकाले पेश गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले समर्थन गरेको छ ।

यस प्रस्तावका मुख्य बुँदाहरू पूर्ण युद्धविराम, हमासद्वारा सबै बन्धकहरूको रिहाइ र इजरायलद्वारा प्यालेस्टिनी बन्दीहरूको रिहाई हुन्।

सुरक्षा परिषद्का १५ मध्ये १४ सदस्यले अमेरिकी प्रस्तावको समर्थनमा मतदान गरेका छन् । तर, रुसले यो प्रस्तावसँग सम्बन्धित मतदानमा भाग लिएन ।

प्रस्तावमा इजरायलले यसमा सहमत भएको र यो प्रस्ताव स्वीकार गर्न हमासलाई अपिल गरिएको बताइएको छ ।

इजरायलले शनिबार सञ्चालन गरेको मिसनमार्फत चार बन्धकलाई उद्धार गरेको छ ।

यद्यपि हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली मिसनका कारण २७४ प्यालेस्टिनीले ज्यान गुमाएका छन् ।

अक्टोबर ७ देखि, इजरायली आक्रमणका कारण ३७ हजार भन्दा बढी प्यालेस्टाइनीहरूले ज्यान गुमाएका छन्, जसमध्ये अधिकांश बालबालिका र महिलाहरू छन्।

हमासका लडाकुहरूले अक्टोबर ७ मा इजरायलको दक्षिणी भागमा आक्रमण गरी १२०० जनाको ज्यान लिएका थिए। हमासले पनि २५१ नागरिकलाई बन्धक बनाएको थियो ।