मेनपावर एजेन्टमार्फत हुने ठगी बढ्यो

काठमाडौँ । केही दिन अगाडि वैदेशिक रोजगार विभागमा एक जना आए । वैदेशिक रोजगारीमा पठाउने नाममा ठगिएको भन्दै ती व्यक्ति विभागसम्म पुगेका थिए । 

उनको हातमा ठगीमा परेका ४१ जनाको विवरण थियो । विभागमा निःशुल्क कानुनी सहायता प्रदान गर्दै आएको पिपुल फोरमका कर्मचारीसँग सोधपुछ गरे । पिपुल फोरमका कर्मचारीले ती व्यक्तिलाई त्यसअघि पनि विभाग परिसरमा नियमित देखिरहेका हुन्थे । तर, त्यो बेला भने उनी आफैँ ठगीमा परेको भन्दै उजुरी दिन आएका थिए । 

त्यसरी ठगीमा परेको भन्दै उजुरी दिन आएका व्यक्ति आफैँ एजेन्ट हुन् । मेनपावर व्यवसायीहरूसँग राम्रो सम्बन्ध बनाएका उनले गाउँघरबाट विदेश जाने मान्छे खोजेर ल्याउने र कमिसन लिएर विदेश पठाउन गरेका थिए ।

माल्टा पठाइदिने भन्दै उनले ४१ जनासँग पैसा उठाएका रहेछन् । उनले प्रतिव्यक्ति १० लाख रुपैयाँ खर्च लाग्ने भन्दै जनही ३ देखि ५ लाख रुपैयाँसम्म लिइसकेका रहेछन् । जुन मेनपावरमार्फत उनले माल्टा पठाउने भनेर पैसा उठाएका थिए, त्यहाँ उठाएको पैसा पनि बुझाइसकेका थिए । तर, अन्तिममा मेनपावर व्यवसायी नै सम्पर्कविहीन भए । 

त्यसपछि उनलाई पैसा तिरेका ४१ जनाले र्‍याखर्‍याख्ती पारेछन् । त्यसपछि उनी आफैँ पीडित बनेर विभाग पुगेका थिए । 

वैदेशिक रोजगार ऐन २०६४ अनुसार मेनपावर व्यवसायीहरूले एजेन्ट राख्न पाउँदैन । विगतमा मेनपावर व्यवसायीहरू एजेन्ट नियुक्त गरेर कामदार पठाउँदै आएका थिए । 

पछिल्लो समय वैदेशिक रोजगार विभागमा आउने धेरै जसो उजुरी यस्तै खालका हुन्छन् । जहाँ एजेन्टहरू नै पीडित बनेर पुग्ने गरेका छन् । केही समय अगाडि रातोपाटीको सम्पर्कमा आएका दाङका प्रवीण थापा (नाम परिवर्तन) को पनि यस्तै समस्या थियो । टोखाको एक मेनपावर कम्पनीले विदेश जाने मान्छे खोज्न र त्यसबापत कमिसन पाउने प्रलोभन देखाएछन् । त्यसपछि उनले १० जनालाई विदेश पठाइदिने भन्दै जनही तीन लाख रुपैयाँ लिए । र त्यो पैसा उनले टोखामा रहेको मेनपावर कम्पनीको खातामा हालिदिए । तर, मेनपावरले लामो समयसम्म पनि विदेश पठाउन सकेन । त्यसपछि उनीहरू आफ्नो पैसा फिर्ता माग्न थाले ।

आज भोलि पठाउने भन्दा भन्दै चार महिना पुरा भयो । तर, मान्छे उडाउन सकेन । ‘उनीहरूबाट पैसा लिएर मेनपावरलाई बुझाइसकेँ । उनीहरूले पैसा फिर्ता चाहियो भन्दै मार्न लागिसके । मेनपावरले अनेक बहाना बनाएर टार्न थालेपछि विभागमा उजुरी दिन पुगेँ,’ उनले भने । 

पछिल्लो समय मेनपावर व्यवसायीमार्फत ठगीका घटना घटेको विभागको तथ्याङ्क छ । तर, एजेन्ट तथा व्यक्तिमार्फत ठगीका घटना निकै बढिरहेको देखिन्छ । 

ठगीको तथ्याङ्क 

वैदेशिक रोजगार विभागको पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष ठगीका घटना बढ्दो क्रममा छ । विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा देशभरबाट वैदेशिक रोजगारीमा ठगीसम्बन्धी एक हजार ७४२ घटना दर्ता भएका थिए । आर्थिक वर्ष २०७९/८० मा चार हजार ४६४ पुगेको थियो । जसमा एक हजार ४२८ मेनपावर व्यवसायीबाट ठगीका उजुरी थिए भने तीन हजार ३६ उजुरी व्यक्तिगत ठगीका थिए । ती उजुरीमा ५५ करोड ६१ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति माग गरिएको थियो । 

त्यस्तै चालु आर्थिक वर्ष २०८०/०८१ को चैत मसान्तसम्ममा पाँच हजार ८८१ उजुरी परेका छन् । जसमा ७५२ उजुरी मेनपावर व्यवसायीबाट ठगिएको भन्दै परेका छन् भने पाँच हजार १२९ उजुरी व्यक्तिगत ठगीका परेका हुन् । 

एजेन्टबाट ठगीका घटना पनि मेनपावर नै जिम्मेवार 

वैदेशिक रोजगार ऐन २०६४ अनुसार मेनपावर व्यवसायीहरूले एजेन्ट राख्न पाउँदैन । विगतमा मेनपावर व्यवसायीहरू एजेन्ट नियुक्त गरेर कामदार पठाउँदै आएका थिए । 

एजेन्टका कारण ठगीका घटना बढेको भन्दै सरकारले त्यसलाई रोक लगाएको थियो । तर, अहिले एजेन्टमार्फत भन्दा पनि व्यक्तिमार्फत ठगीका घटना बढिरहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए । 

एजेन्ट मार्फत हुने ठगीका घटनामा समेत अन्तिम मेनपावर व्यवसायी नै जोडिने गरेको भन्दै त्यस्ता खालका घटना कम रहेको उनको भनाइ छ । ‘एजेन्ट मार्फत ठगी भयो पनि त्यो मेनपावर व्यवसायीसँग नै जोडिने हो । तर, अहिले व्यक्तिगत ठगीका घटना अत्यधिक बढेका हुन्,’ अध्यक्ष भण्डारीले भने, ‘व्यक्तिगत ठगीमा भिजिट भिसाबाट मान्छे पठाइदिने, दिल्लीबाट मान्छे पठाइदिने गरेका छन् । त्यसमा समग्र वैदेशिक रोजगार क्षेत्र नै बदनाम भइरहेको छ ।’  

वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका महासचिव कुन्छा दोर्जे डिम्दोङ्गले व्यवसायी मार्फत हुँदै आएको ठगीका घटना निकै कम भइरहेको बताए ।

व्यक्तिगत रूपमा नै भिजिट भिसा मार्फत विदेश पठाउने र त्यस्तो नाममा ठगीका घटना बढिरहेको उनको भनाइ छ । अहिले मलेसिया तथा खाडी मुलुकहरूमा ठगीका घटना कम देखिएको बताउँदै उनले भने, ‘युरोप र अमेरिकातिर ठगीका घटना बढिरहेका छन् । यी देशमा प्रमाणीकरण सरकारले खोलिदिएको छैन । जसले गर्दा हामीले बिजनेस गर्न पाएका छैनौँ । यस्तो अवस्थामा संस्थाले गर्ने काम व्यक्तिले गर्न थाले । व्यक्तिले गर्न थालेपछि सम्बन्धित कम्पनीसँग एग्रिमेन्ट गर्न सक्दैन ।’

वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका महासचिव कुन्छा दोर्जे डिम्दोङ्गले व्यवसायी मार्फत हुँदै आएको ठगीका घटना निकै कम भइरहेको बताए । व्यवसायीहरूका आ–आफ्नै संघ संस्थाहरूमार्फत पनि त्यस्तो कार्य गर्नेलाई सचेत गराउँदै आएको बताए ।

मेनपावर व्यवसायीहरू आफैँ सचेत भइरहेको बताउँदै उनले भने, ‘ठगीका घटनामा व्यक्तिहरू संलग्न देखिएका छन् । कन्सल्टेन्सीवालाहरू अहिले मान्छे पठाउनतिर लागेका छन् । जसले गर्दा गल्ती गर्ने अरू, दोष हामीले खानुपरेको छ ।’

मेनपावरले ब्रोकर नियुक्त गर्दा समस्या भयो ः विभाग 

वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले मेनपावर व्यवसायीहरूले एजेन्ट तथा ब्रोकरहरू नियुक्त गर्दा ठगीका घटना बढिरहेको बताए । फ्रि भिसा फ्रि टिकटको नाममा मेनपावर व्यवसायीलाई सेवा शुल्क नतोकेदेखि यस्तो खालका समस्या निम्तिएको उनको भनाइ छ । 

‘‘फ्रि भिसा फ्रि टिकट’ भनेपछि मेनपावरलाई सेवा शुल्क तोकिएन । मेनपावरले एजेन्टहरू नियुक्त गरे । ती एजेन्टहरूले मनलाग्दी तरिकाले पैसा उठाए । उनीहरू न आधिकारिक व्यक्ति हुन्, न लाइसेन्स हुन्छ । उनीहरूकै कारण समस्या आइरहेको हो,’ महानिर्देशक घिमिरेले भने । 

एजेन्टमार्फत हुने गरेका ठगीमा विभिन्न प्रमाण हेरेर कानुनी कारबाही गर्दै आएको उनको भनाइ छ । ‘च्याट गरेको रेकर्ड लिन्छौँ । उसको खातामा पैसा गएको छ कि छैन भनेर हेर्छौ । विदेश गएको छ कि छैन भनेर लगायतका सबै प्रमाण हेर्छौँ । र त्यो प्रमाणित भएपछि हामी कानुनी प्रक्रिया अगाडि बढाउँछौँ,’ उनले भने । 

एजेन्ट नै नियुक्त नगरेर सिधै कामदार पठाउने मेनपावर पनि रहेको उनको भनाइ छ । दलाल नियुक्त नगर्ने, आफ्नै खातामा पैसा हाल्न लगाउने र सहज रूपमा नै श्रमिकलाई पठाउने मेनपावर पनि रहेको उनको भनाइ छ । त्यस्ता खालका मेनपावर दुईदेखि तीन सयको हाराहारीमा रहेको उनको भनाइ छ । 

ती बाहेकको हकमा एजेन्टमार्फत नै काम हुने गरेको र ठगी समेत समेत तिनैबाट हुने गरेको महानिर्देशक घिमिरेले बताए । मेनपावर व्यवसायीले ब्रोकर नियुक्त गरेर समस्या निम्त्याई रहेको उनको भनाइ छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कुनै संस्था इजाजतपत्र प्राप्त हो वा होइन, वैदेशिक रोजगारको लागि पूर्व स्वीकृति लिएको छ वा छैन भनी वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत यकिन गर्ने, बिना प्रमाण तोकिएको शुल्क भन्दा बढी रकम नदिने र वैदेशिक रोजगारी प्रयोजनका लागि तोकिएको सेवा शुल्क संस्थाको बैंक खातामार्फत मात्र बुझाउने गर्दा ठगीबाट बचिने जनाएको छ । 

वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कुनै पनि व्यक्ति वा संस्थाले इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा, कसैलाई वैदेशिक रोजगारमा लगाइदिन्छु भनी झुट्टो आश्वासन तथा प्रलोभन देखाएर रकम लिई ठगी गरेमा कारबाही हुने व्यवस्था छ ।

अवैध रूपमा कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको ५० प्रतिशतले हुने रकम हर्जनाबापत असुल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्च भराई तीन लाखदेखि पाँच लाखसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।