नुवाकोटको प्रसिद्ध मन्दिर चिम्टेश्वर महादेवको धार्मिक तथा सांस्कृतिक महत्त्वहरु

बिपिन गुरागाईं, काठमाडौ । नुवाकाेट बेलकाेटगढी नगरपालिकामा चिम्टेश्वर महादेव मन्दिर अवस्थित रहेकाे छ ।२१०० मिटरकाे उचाईमा रहेकाे चिम्टेश्वर बारेमा विभिन्न किंवदन्ती सुन्न पाईन्छ ।देवता र दैत्य मिलेर समुद्र मथन गर्दा कालकूट विष निक्लियाे र सबै लाेक दग्ध हुन थालेपछि शिवजीले विषपान गर्नुभयाे र उहाँलाई पनि डाहा भयाे उत्तरापन्थ लाग्ने क्रममा यसै स्थानमा चिम्टा भुल्नुभएकाे हुनाले चिम्टेश्वर नाम रहन गयाे । कसैले याे त चिर्केश्वर महादेव पनि भन्दछन् । शिवलिङ्ग हल्का चिर्किएकाे हुनाले चिर्केश्वर भएकाे त्यसैबाट अहिले चिम्टेश्वर भएकाे भन्ने जनश्रुति पाईन्छ । सतीदेवीकाे चिर( देह)पतन भएकाेले चिर्केश्वर भएकाे पनि भनिन्छ । मन्दिरभित्र पुरानो ढुङ्गामा शिवलिङ्गको याेनि भाग कुँदिएको छ । बीचकाे लिङ्गभागचाहिँ कालो पत्थरको छ, जो कुनै बेला भाँचिएको जस्तो पनि देख्न सकिन्छ । उत्तर–पश्चिम कोणमा पत्थरको नन्दी देखिन्छ, जसको टाउको भाग फुटेको प्रस्टै देख्न सकिन्छ । नन्दी एउटा ढुङ्गामाथि छ र त्यो ढुङ्गो पनि फुटेको छ । नन्दीको आकृति हेर्दा केही पुरानोजस्तो पनि देखिन्छ । सायद त्यो गोठालाले या त्यहाँ जाने कुनै भक्तले अतिश्रद्धावश नन्दीलाई घुमाउँदा फुटेको हुनुपर्छ । यहाँ रहेकाे शिवलिङ्ग अद्भुत रहेकाे छ।अन्य शिवलिङ्गकाे जल खस्ने स्थान उत्तर तर्फ हुन्छ तर चिम्टेश्वरमा पूर्व रहेकाे देख्न सक्छाै ।काठमाडौं बालाजुबाट ३५ किलो हुँदै हाइवे छाडेर करिब १५ किलोमिटर दूरी यात्रा गरेपछि यो क्षेत्र पुग्न सकिन्छ ।त्यस्तै धादिङ्ग छत्रेदेउराली,कुमरी हुँदै लगभग ४० कि.मि. मा यहाँ पुग्न सकिन्छ ।त्यस्तै नुवकाेटबाट पनि यता अ‍ाउन सकिन्छ । यहींबाट पूर्व, उत्तर र पश्चिमभेगमा लहरै गौरीशंकर, दोर्जे ल्हाक्पा, लाङटाङ, साञ्जेन, गणेश, मनास्लु, अन्नपूर्ण, चीनको केरुङ क्षेत्रका लस्करै दर्जनाैं हिमृंखलाहरु देख्न सकिन्छ । त्यसैगरी पूर्वीभेगमा काठमाडौं उपत्यका, ककनी, शिवपुरी, दक्षिणीभेग धादिङ्गका बेंसीं र डाँडाहरु, मकवानपुरकाडाँडा, पश्चिममा नुवाकोट झिल्टुङ, उत्तरी भेग हिमालबाहेक रसुवाका ३ वटा पालिका देखिन्छ । त्यसैगरी यहाँबाट त्रिशूली बजार, विदुर, बट्टार, पिपलटार फाँट देखिन्छ । ‘तुवाँलो लागेन भने हिमालदेखि वरिपरिका फाँटहरु मनमोहक देख्न सकिन्छ । धार्मिक र प्राकृतिक रूपले निकै सबल यस क्षेत्र ऐतिहासिक पक्षले पनि उत्तिकै रहेकाे छ। पृथ्वीनारायण शाहले पहिलाेपटक नुवाकाेट अ‍ाक्रमण गर्दा असफल भएपछि गुरु गाेखनाथकाे अ‍ाज्ञाले यही पूजा अर्चना गरिसकेपछि नुवाकाेटमा जित हासिल गरेका थिए । चिम्टेश्वर महादेवको मन्दिर रहेको स्थान नजिकै भ्युटावर पनि निर्माण गरिएको छ। भनिन्छ यहाँ पनि बडामहाराजधिराज पृथ्वीनारायण शाहले आफ्नो गढी बनाएका थिए रे। त्यसको अवशेषका रूपमा हामीले बंकर देख्न सक्दछाै । धार्मिक,प्राकृतिक र ऐतिहासिक महत्त्वले भरिएकाे चिम्टेश्वर,चिर्केश्वर पदयात्रीकाे लागि पनि उत्कृष्ट स्थान हाे । हामीले दर्शन गर्याै हजुरहरु पनि जानुहाेला ।। जय चिम्टेश्वर ! ! जय चिर्केश्वर ! !