पुरुषप्रधान समाजप्रतिको कटाक्षमा आधारित फिल्म : दयारानी

काठमाडौ । कोरोना संक्रमणका कारण देश लामो समय थला पर्‍यो। निर्देशक माओत्से गुरुङ र उनको ‘दयारानी’ पनि त्यही कारण थला परे। लकडाउन खुल्यो तर, दयारानीलाई हलसम्मको बाटो खुलेन या भनौँ दयारानीले हलसम्मको बाटो भुल्यो, कोमामै गयो।

तर, खुसीको कुरा के हो भने यतिबेला कोमाबाट दयारानी उठिसकेको छ र हलसम्म पनि पुग्न भ्याइसकेको छ। गुरुङ निर्देशित पहिलो नेपाली चलचित्र शुक्रबारबाट क्यूएफएक्स लगायत देशभरका हलहरूमा लागिसकेको छ।

लामो प्रतीक्षापछि बाहिरिएको यस सिनेमाप्रति दर्शकहरूले पक्कै पनि ठूलो अपेक्षा राखेका छन्। दर्शकहरूको अपेक्षालाई दयारानीले कत्तिको न्याय गर्‍यो, गरेन भन्ने कुरा तपसिलमा आउँदै रहला। आउनुस्, अहिलेलाई भने फिल्मका विविध पक्षलाई केलाएर हेरौँ।

१. कथा
नेपाली समाजका लागि ‘दयारानी’ले सुनाउने कथा कुनै नौलो कथा होइन। कथा पुरानो हो तर, पुरानो हुन नमानिरहेको कथा हो। नेपाली समाजलाई नियाल्दा अझै पनि ‘दयारानी’का कथा ताजा लाग्छन्।

त्यस हिसाबले फिल्मले भन्ने कथा आजको समाजको ताजा कथा नै हो। तर, राम्रो कुरा के हो भने नेपाली सिनेमा समाजमा भने यो नौलो कथा हो। उपेन्द्र सुब्बा निर्देशित ‘जारी’ पनि धेरैथोरै यस्तै कथाको जगमा उभिएको थियो। जे होस्, जारी र दयारानीजस्ता सिनेमाहरूले यस्ता कथा सुनाउनु नेपाली सिनेमा क्षेत्रमा नयाँपन थप्नु नै हो।

र यसको सुन्दर पक्ष भने यस्ता कथामा सिनेमाहरू बनिरहे मात्र समाजबाट यस्ता कथाहरू पुरानो हुँदै जाने हुन्। बासी हुँदै, सड्दै र घट्दै जाने हुन्। यस्तो गम्भीर र बहस आवश्यक विषयमा कथा भन्ने लेखक तथा निर्देशक गुरुङ अवश्य पनि बधाईका पात्र हुन्।

२. कथावाचन
फिल्मको कथा भन्ने शैली काव्यिक छ। एउटा भंगेरा मार्न नसके पनि चित्रजंगले बोकी हिँड्ने बन्दुक, मितज्यूको परिवार र विरोधाभास बोल्ने उनको पेसा, कोदोले बाला हालेदेखि नल काट्दासम्मको मौसमी यात्रा र यस्तै यस्तै अनेक बिम्बहरूको प्रयोगले फिल्म मीठो बनेको छ। कविता पढ्ने/लेख्ने दर्शक तपाईं यदि हो भने फिल्म हेरिसकेपछि निर्देशक गुरुङलाई ‘दृश्यकवि’ भन्न तपाईं हिचकिचाउनुहुने छैन।

त्यसो त ठ्ट्यौली शैलीमा कथा भनेको भए पनि कथाले विचित्रता पस्किएको छैन, बरु यथार्थको धरातलमा उभिएर समाजको तितो सत्यमाथि नाङ्गो व्यङ्ग्य गरेको छ।

साहित्य समालोचक एवं संरचनावादी दार्शनिक नर्थरप फ्रायले पनि कथाको प्रस्तुतीकरण अनुसार साहित्यलाई पाँच विधा र चार मौसममा वर्गीकरण गरेको पाइन्छ। उनले हास्य शैलीले समाजको यथार्थमाथि कटाक्ष गर्ने साहित्यलाई व्यङ्ग्य विधाअन्तर्गत राखेका छन् भने त्यस्ता कथालाई ‘मिथोज अफ विन्टर’ अर्थात् ‘हिउँदको कथा’ भनेका छन्।

हिउँदको चिसो मौसममै बाहिरिएको यो सिनेमाले सुनाउने कथा पनि एक दम्पतीको चिसो कथा नै हो।

३. पात्र
फिल्मको नामअनुसार नै जाने हो भने पनि कथाको मुख्य पात्र ‘दयारानी’ हुनुपर्ने हो। तर, फिल्ममा मुख्य पात्र ‘चित्रजंग’ देखिएको छ। दयारानीले फिल्मको कथाभित्र जति ठाउँ पाउनुपर्ने हो त्यति नपाएको हो कि?

खैर, मुख्य पात्र चित्रजंगको चरित्र निर्माण पनि गहिराइबाट भएको देखिँदैन। लेखक गुरुङ यस पात्रको मनोविज्ञानभित्र पर्याप्त घुस्न सकेका छैनन्। चित्रजंग जति आफ्नो पुरुषवादी अह्म जोगाउन संघर्षरत छ, त्यति नै दयारानीप्रति ग्लानिबोधले पिल्सिनुपर्ने पो थियो कि? त्यसो त महिलाको नजरबाट पुरुषवादी समाजले हेर्न जानेकै पनि कहाँ होला र है? तापनि, लेखकको कलम यस्ता ‘वाद’हरूको रेखा नाघेर लेख्नसकेको भए सुनमा सुगन्ध हुनेथियो कि भन्ने लोभ एउटा सचेत दर्शकलाई अवश्य नै लाग्दो हो।

मितज्यूको चरित्र भने सुरुमा जति अनौठो लागेको हुन्छ फिल्मको अन्त्यसम्म उत्तिकै अर्थपूर्ण पनि लाग्नेछ। चरित्र निर्माण र पात्र विकासको हकमा सबैभन्दा स्पष्ट र बलियो पात्र मितज्यू नै हो भन्दा फरक नपर्ला।

मुख्य भूमिकामा रहेका केहीबाहेक अन्य पात्रहरू भने उति स्पष्ट लाग्दैनन्।

४. समाज
सिनेमाको कुरा गर्दै गर्दा धेरै ठाउँमा दोहोरिएका शब्द हुन्, समाज र व्यङ्ग्य। वास्तवमै, फिल्मले पुरुषप्रधान नेपाली समाजको तितो यथार्थमाथि व्यङ्ग्यको मीठो झापड लगाएको छ। पुरुषप्रधान समाजले महिलालाई त दबाएको छँदै छ, तर यसले पुरुष स्वयंलाई पनि अप्रत्यक्ष रूपमा थिचेरै राखेको छ।

पुरुषप्रधान नेपाली समाजले ‘मर्द’ र ‘नामर्द’ जस्ता भाष्यको निर्माण गरेर पुरुषहरूमाथि नै पनि नजानिँदो शोषण गरेको तथ्यमाथि फिल्मले कटाक्ष गरेको छ। समाजले तोकिदिएअनुसारको ‘मर्द’ बन्ने होडमा कसरी पुरुष स्वयं थिचिएको छ र फलस्वरूप त्यसले महिलाहरूलाई कसरी पछाडि धकेलिरहेको छ भन्ने कुरा फिल्मले अति स्पष्टतासँग चित्रण गरेको छ।

फिल्मले एउटा गम्भीर विषयमाथि बहसको लागि प्रश्नहरू छेडिदिएको छ।

यसका बाबजुद, समाजमा जस्तै फिल्मभित्र पनि दयारानीमाथि अन्याय भएकै छ। यसलाई समाजको यथार्थ चित्रण गरिएको भनेर सजिलै जान दिनु भने पक्कै हुँदैन। कम्तीमा दयारानीको मनस्थिति र मनोविज्ञानको पर्याप्त चित्रण फिल्मले गर्न सकेको भए विद्यमान पुरुषप्रधान समाजले महिलाहरूको पीडा र समस्यालाई पनि नजिकबाट

बुझ्न पाउँथ्यो कि?

सुनिन्छ, दयारानीको कथा पूरा भएको छैन र अर्को भागमा त्यसलाई पूरा गरिनेछ। आशा गरौँ, निर्देशक गुरुङले कथाको बाँकी भागलाई ‘दयारानी’को नामबाट मात्र नभएर दयारानीकै आँखाबाट समेत देखाउनेछन्।

५. अभिनय
सन् २०१८ को मिस्टर झोलेमा पनि सँगै देखिएका दयाहाङ राई र दिया पुन मगरको जोडी नै यहाँ पनि देख्न पाइन्छ। यो जोडीलाई दर्शकले पहिलाजस्तै अहिले पनि मन पराउने कुरामा कुनै शंका छैन। दुवैले आ-आफ्नो पात्रलाई आफ्नो अभिनय कलामार्फत् जीवन्त उतारेका छन्।

सहायक भूमिकामा देखिएका विजय बरालको अभिनयमा पनि खोट लगाउने ठाउँ छैन। यद्यपि, कबड्डीका चारैवटा भाग, सुब्बा निर्देशित जारी, मिस्टर झोले लगायतका फिल्महरूमा पनि दया र विजयको जोडीलाई लगातार देख्दै आएका दर्शक ‘दयारानी’मा पनि उनै जोडीले मित लगाएको देख्दा पक्कै झिँजिएलान्।

यस्तै, झण्डै २ घण्टाको फिल्ममा जम्मामा दुई मिनेट पनि नदेखिएका बुद्धि तामाङ भने लाग्छ ‘हैट!’ भन्नैका लागि मात्रै आएका हुन्। क्यामियोमा देखिएका तामाङलाई दर्शकले केन्द्रीय भूमिकामा देख्न पो रुचाउने थिए कि? अभिनय कलामा कोहीभन्दा कम नदेखिए पनि निर्देशकहरूले उनलाई केन्द्रीय पात्रमा लिन डराउनु वा नचाहनु उनका प्रंशसकहरूको एउटा अनौठो जिज्ञासा हुनसक्छ।

६. प्रविधि
प्राविधिक पक्षको कुरा गर्नुपर्दा फिल्मको सिनेम्याटोग्राफी सन्तोषजनक नै लाग्छ। वाइड एंगलमा खिचिएका धेरै सटहरू मनमोहक लाग्छन्। स्पोइल नगरी भन्नुपर्दा चित्रजंगले देखेको सपनाको दृश्य यसरी खिचिएको छ कि त्यसले पात्रलाई मात्र नभएर दर्शकलाई पनि उत्तिकै झस्काउन सक्छ।

यस्तै, कतैकतै अलि बढी भएको हो कि जस्तो लागे पनि फिल्मको ब्याकग्राउन्ड म्युजिकले पनि दर्शकलाई बाँधेरै राख्नेछ।

जाँदाजाँदै, केही कमजोरीका बाबजुद फरक कथा र इमानदार प्रयासमा बनेको यो काव्यिक सिनेमा हेर्न छुटाउनु भनेको आफ्नो छायासँग आफै भाग्नु मात्रै हो।