काठमाडौ । बिहीबार बिहानदेखि कर्णालीका सबैजसो जिल्लाहरूमा वर्षा र हिमपात भइरहेको छ । वर्षा र हिमपातसँगै चिसो बढेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । यहीबिचमा जाजरकोट भूकम्पका पीडितहरूलाई हिमपात र वर्षाले थप पीडा दिइरहेको छ ।
माघको चिसो, त्यसैमा वर्षा र हिमपातले भूकम्प पीडितहरू सकसमा परेका छन् । ‘पानीले गर्दा हाम्रो अवस्था निकै अस्तव्यस्त भयो, चिसोले समस्या थियो नै त्यसैमा पानी परेपछि अस्थायी छानोले पानी छेक्न सक्ने अवस्था रहेन,’ नलगाड नगरपालिका–१, चिउरीका भूकम्प पीडित प्रकाश विकले भने, ‘चिसोले बुढाबुढी र बालबालिकालाई समस्या दियो ।’ उनका अनुसार बिहीबारको पानीले छानोभित्र सिधै पानी पस्दा निकै समस्या भइरहेको छ । भूकम्प पीडितको जनजीविका अस्तव्यस्त भइरहेको उनले बताए ।
‘हिजो (बिहीबार) बिहान तीन बजेबाट पानी आएको हो, बसाई निकै अस्तव्यस्त छ,’ उनले भने, ‘हाम्रो गाउँका घाइतेहरूलाई अझ समस्या छ । दीर्घ रोगी, घाइते, गर्भवती महिलालाई टहरामा चिसो हुन्छ ।’ उनका अनुसार पशु चौपायालाई समेत समस्या भएको छ । घरहरू भत्कँदा पशु चौपायाहरुलाई बाहिरै बाँध्ने काम भएको छ । ‘हामी त चिसोमा लुटुपुटु भए पनि बच्ने प्रयास गरेका हुन्छौँ,’ उनले भने, ‘तर गाई गोरु मर्ने भए हजुर, के गर्ने समस्या नै समस्या भयो,’ अस्थायी आवासले चिसो छेक्न नसक्ने उनले बताए ।
चिउरी भूकम्पबाट पुरै तहसनहस भएको गाउँ हो, त्यहाँका १३ जनाको भूकम्पमा परी मृत्यु भएको थियो भने चिसोबाट एक जनाको मृत्यु भएको छ । जतिसक्दो राज्यले पुन निर्माणको प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ । जाजरकोट सदरमुकाम खलङ्गाकी भूकम्प पीडित ललिता पुन मगरले भनिन्, ‘भूकम्प र त्यसबाट हुने असरले बाँचेकाहरूलाई थप पीडा भइरहेको छ । बाँचेकाहरूका सपनाहरू मर्न थालिसकेका छन् ।’ बाँचेकाहरूमा समेत मनोवैज्ञानिक असर परिरहेको उनको भनाइ छ । जाजरकोटमा भूकम्पपछि चिसोले ३० भन्दा बढीको ज्यान गइसकेको छ । वर्षा र हिमपातपछि त्यो सङ्ख्या अझ बढ्ने चिन्ता देखिन्छ । चिउरीका स्थानीय युवा हात्तीराम महर दीर्घ रोगी, बालबालिका, सुत्केरी, गर्भवतीलाई कसरी जोगाउने चिन्ताको विषय रहेको बताउँछन् । उनका अनुसार केही दिनअघि मात्रै शीतलहरकै कारण बिते । ‘चिसोले बच्चाबच्चीमा खोक्ने, ज्वरो आउने लगायतका स्वास्थ्यमा समस्याहरू देखिरहेको अवस्था छ,’उनले भने, ‘हाम्रो अवस्था विडम्बना नै छ ।’ उनीहरू मात्र मात्र होइन जाजरकोट र रुकुम पश्चिमका अधिकांश भूकम्प पीडितहरूको समस्या यही हो । जाजरकोटका उत्तरी र रुकुम पश्चिमका उच्च तथा लेकाली भू–भागहरूमा हिमपात हुन्छ । ती क्षेत्रका भूकम्प पीडितहरूलाई झन् समस्या भइरहेको ती क्षेत्रका जनप्रतिनिधिहरू बताउँछन् ।