सीआईबीद्वारा बम्जन सार्वजनिक: ३ करोड ३४ लाख नगद समेत बरामद

काठमाडौँ । मंगलबार पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनको साथबाट प्रहरीले ३ करोड ३४ लाख ३७ हजार ९०६.७ रुपैयाँ बरामद गरेको छ । विभिन्न १७ देशका विदेशी मुद्रासहित उनको साथबाट उक्त परिमाण बराबरको नेपाली रुपैयाँ बरामद भएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

उनलाई पक्राउ गरिएकोबारे औपचारिक जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा उनलाई बूढानीलकण्ठ नगरपालिका, वडा नं ६, टन गाउँबाट पक्राउ गरिएको जानकारी दिइयो । उनको साथबाट प्रहरीले मोबाइलमात्रै १४ थान बरामद गरेको छ । 

२०७१ श्रावनदेखि बाराको हलखोरियामा बम्जनको आश्रममा रहेकी आनीले  यौन शोषण गरेको भन्दै उनीविरुद्ध उजुरी दिएकी थिइन् ।  बाल यौन शोषण गरेको मुद्दा लागेपछि फरार रहेका बाराको रतनपुरी स्थायी वतन भएका बम्जनलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतले २०७६/१०/२३ अनुमति दिएको थियो ।  

यसैगरी प्रतिवादीलाई पक्राउ गरी उपस्थित गराई गराउन जिल्ला प्रहरी कार्यालय, सर्लाहीले पनि २०७६/१०/२४ पत्राचार गरिसकेकामा  खोजतलासका क्रममा बुधबार पक्राउ गर्न सकिएको सीआईबीको भनाइ छ । 

बम्जनको खोजतलास गर्ने क्रममा मंगलबार  करिव १९ः १५ बजे  पक्राउ गर्न घरमा प्रवेश गर्दा  उनी खाली रहेको भिरालो जमिनमा झ्यालबाट हाम फाली भाग्ने क्रममा  ब्यूरोको टोलीले पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रहरीका अनुसार बरामद दसीमा मोबाइलबाहेक ३ वटा मोटरसाइकलको बिलबुल रहेका छन् । यस्तै गाडीको चाबी १ थान, विभिन्न ब्राण्डको पेनड्राइभ २० थान, भोइस रेकर्डर १ थान, विभिन्न ब्राण्डको मेमोरी कार्ड २ थान, आईप्याड र ट्याब ५ थान र अन्य मागजातहरु बरामद भएको सीआईबीले जनाएको छ । 

सीआईबीले बम्जनको आश्रमबाट विभिन्न समयमा बेपत्ता भएका अनुयायीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ । 

पत्रकार सम्मेलनकै क्रममा बम्जनलाई सार्वजनिक समेत गरिएको थियो ।