कोरिया भाषा परीक्षा माघ ६ गतेदेखि हुने

काठमाडौं । दक्षिण कोरियाका लागि ईपीएस भाषा परीक्षा जनवरी २० देखि हुने भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगत कोरिया रोजगारीका लागि पानी जहाज निर्माण क्षेत्रमा सहभागी भएका र उत्पादनमुलक क्षेत्रका लागि पनि आवेदन दिएकाहरूले भाषा परीक्षामा सहभागी हुन पाउने भएका छन् ।
त्यसका लागि जनवरी २० बाट ईपीएस भाषा परीक्षा सञ्चालन गर्ने तालिका तयार भएको उनले बताए । घिमिरेका अनुसार उत्पादनमुलक क्षेत्रको रोजगारीका लागि जान करिव १ लाख ६४ हजार जनाले आवेदन दिएका छन् । उनीहरूलाई तीन चरणमा भाषा परीक्षामा सहभागी गराइने भएको छ ।

पहिलो चरणमा ४७ हजारले परीक्षा दिन पाउने भएका छन् । दोस्रो चरणमा ८० हजार र बाँकीलाई तेस्रो चरणको भाषा परीक्षामा सहभागी गराइने भएको छ । पहिलो चरणमा परीक्षा दिइसकेकाहरूको नतिजा सार्वजनिक भएपछि दोस्रो चरणको परीक्षा सञ्चालन हुनेछ । त्यसपछि मात्रै अन्तिम चरणको परीक्षा हुनेछ ।
ईपीएस प्रणालिमा एक क्षेत्रको परीक्षामा सहभागी भएकाहरुले सोही वर्ष अर्को क्षेत्रको परीक्षामा सहभागी हुन नपाउने व्यवस्था छ । तर, पानी जहाज निर्माण क्षेत्रको परीक्षामा सहभागी भएकाहरुलाई उत्पादनमुलक क्षेत्रमा पनि सहभागी गराउन उच्च अदालत पाटनले आदेश दिएपछि यसपटक आवेदन दिएका सबैले परीक्षा दिन पाउने भएका हुन् ।