बोम्बोहरुको इतिहास र परिचय”

युनिस तामाङ ,

धादिङ।बोन धर्म प्रकृतिपूजक धर्मको विकसित रूप हो । प्राचीन कालदेखि प्रचलित बोन धर्म तिब्बतको झ्याङझ्युङ प्रान्तबाट प्रचारमा आएको कथनहरू पाइन्छ । बिरामीको उपचार गर्न तान्त्रिक विधि प्रयोग गर्नेहरू नै बोम्पो हुन् ।

आधुनिक बोन धर्मका प्रचारक बोन शेरब मि बो हुन् । बोन शेरबले बलि प्रथालाई परिमार्जन गर्दै पशुको बदलामा तोरमा, रगतको बदलामा रातो रङ्ग, आन्द्राभुँडीको सट्टा धागो बेर्ने चलन चलाएका थिए । तर उनीसँग असहमति राख्नेहरूले बलिदिने प्रचलन यथावत् राखे । हिंसावादी कालो बोन र अहिंसावादी सेतो बोन कहलिन थाले । प्रायः बोम्पोहरूले भने कालो र सेतो बोनको मिश्रित अनुकरण गरेको पाइन्छ ।
बोन देवताहरूमा बौद्ध, हिन्दु र इरानीयन प्रभाव भएपनि अध्यात्मवाद र प्रकृतिपूजक लोक धर्मको देवताहरूप्रति बोम्पोहरूमा यद्यपि आस्था कायम रहेको छ ।

बोम्पोसँग कुनै ग्रन्थ हुँदैन, कण्ठस्थ मन्त्रोच्चारण गर्दछन् । साधनाबाट तान्त्रिक शक्ति आर्जन गर्दछन् । उहिले बौद्धमार्गी राजाले बोम्पोसँग रहेको सबै ग्रन्थ जलाउन लगाएदेखि उनीहरूसँग लिखित ग्रन्थ नभएको लिखत पाइन्छ । तर अहिले ङिङमापा मतका नौ यान नै बोम्पोको मार्ग हुन् भन्ने मत पनि मुखरित हुँदै गएको पाइन्छ ।
तामाङ बोम्पोहरू प्रकृतिस्थ अध्यात्मवादलाई बढी मान्ने हुनाले पहाड, पर्वत, पहरा, कन्दरा, वनजंगल, बाटो, नदी, सुरुङ, गुफा, पानीको तलाउ, ताल, छहरा, भीर, रुख आदिमा अदृश्य देवदेवीको बसोबास रहेको हुन्छ भन्ने मान्यता राख्दछन् । शिब्दा शाकाहारी र न्याता मांसाहारी देवताको रूपमा लिन्छन् ।
बोम्पोहरू विशेषतः मन्त्र साधनाको प्रयोग गरी देवदेवीलाई यथास्थानमा सम्मानका साथ पूजा गरी उत्पादकत्व वृद्धि गराउने, सुख, शान्ति र समृद्धिको विकास गराउने कार्यमा रहेको हुन्छ ।
यदि कथमकदाचित गल्ती भई भूत, प्रेत, वीर, मसान र पिशाचको प्रभाव परेमा त्यसबाट मुक्त दिलाउने काम गर्दछ । ल्ह (देवता), ल्हु (नाग), माङ (भूत) बाट जोगाउन विशेष भूमिका निर्वाह गर्दछ । मानिसहरूलाई लाग्ने रोगहरू मन्छाएर म्हमो (डरलाग्दो राक्षसी प्रवृत्तिको हजुरआमा) सँग पठाउँदछन् । त्यही म्हमोलाई खुसी राख्न बली दिने गरिन्छ भन्ने विश्वास गर्दछन् ।
बोम्पो खासगरी अदृश्य शक्तिको उपासक हो र त्यही शक्तिको प्रयोग गरी मानव जीवनलाई सुखी र समृद्ध पार्न प्रयासरत रहन्छ । कतिपय बोम्पोहरूमा हिन्दुधर्मको शैव तन्त्रको समेत प्रभाव रहेको पाइन्छ । मानिस जीवित रहँदा गरिने संस्कारमा बोम्पोको प्रभाव बढी देखिन्छ ।
के गर्न सकिन्छ ?
अहिले आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र नै भौतिक तथा अभौतिक सम्पदाहरू हुने गरेको छ । बोम्पो अभौतिक सम्पदा भए पनि बोम्पोले पूजाआराधना गर्ने स्थान भने ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्वका हुने गरेका छन् ।
गंगाजमुना, सिङल्ह, म्हन्दङ, गिलिङचो, ल्याक्चेकुण्ड, थङब्रा, सिन्दुङ, अमछेदिङमो, कप्रङचे, बोन डोङ डोङ, नागगोरोम, गोसाईंकुण्ड, देवीखुङ, कालमाटी, परग्युङ, किपर आदि स्थलहरूमा बोम्पोहरू पूजाआराधना गर्न जाने गर्दछन् ।

विद्यालयहरूबाट अवलोकन भ्रमण गर्ने र गराउने पनि गर्दछन् । यसमा लाग्ने मेलामा आन्तरिक तथा बाह्य पर्यटकको समेत संलग्नता रहने गर्दछ । यी स्थान र बोम्पोहरुसँग धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व रहेको तर ती भौतिक तथा अभौतिक सम्पदामा ह्रासोन्मुख हुँदै गएकोले बोम्पोको संरक्षण र संवर्द्धन गर्ने कार्यक्रमको आवश्यकता पर्न गएको छ ।
विद्यालयीय शिक्षासँग बोम्पो ज्ञान जोड्न सकिन्छ ।

यसको लागि प्राज्ञिक अनुसन्धान पनि गर्न सकिन्छ । अनुसन्धानका प्रतिवेदन बमोजिमका बोम्पो ज्ञानलाई अभिलेखीकरण गरी संश्लेषण र विश्लेषण समेत गर्न पनि बोम्पो संरक्षण तथा प्रवर्द्धनात्मक कार्यक्रमहरू गर्नु जरुरी छ । यस्ता कार्यक्रमले बोम्पो प्रशिक्षण, भेला, समिति गठन र दर्ता प्रक्रियासम्म सघाउने, पूजाआराधनास्थलहरू संरक्षण, पुनर्निर्माण गर्ने, मेला तथा उत्सव आयोजना गर्ने, प्रचार प्रसार गर्ने, बोम्पो डाइरेक्टरी प्रकाशन, स्थानीयमा जनचेतना बढाउने, प्राज्ञिक अनुसन्धान गर्ने लक्ष्य राख्नु पर्दछ ।

कार्यक्रमको उद्देश्य के राख्ने ?
बोम्पो संरक्षण तथा प्रवर्द्धन कार्यक्रमका निम्न उद्देश्यहरू राखेका हुनु पर्नेछन्:
१). बोम्पो तालिम तथा प्रशिक्षण गर्ने
२). समिति गठन गरी तहगत नेतृत्वसँग समन्वय गर्ने
३). मौलिकतामा असर नपर्ने गरी कुङकरको भौतिक स्तरोन्नति गर्ने ।
४). बोम्पो मेला तथा उत्सव आयोजना गर्ने ।
५). बोम्पोहरूको विवरण समेट्ने गरी एक टेलिफोन डाइरेक्टरी प्रकाशन गर्ने ।
६). अनलाईन खबर,पत्रपत्रिका, रेडियो, टेलिभिजन, पर्चा, पम्लेट र सामाजिक सञ्जाल मार्फत प्रचार प्रसार गर्ने ।
७). स्थानीयहरूमा जनचेतनामूलक कार्यक्रम गरी स्वयंसेवक जुटाउने ।
८). बोम्पो विषयमा प्राज्ञिक अनुसन्धान गर्ने ।
कार्यक्रम सम्पन्न गर्न रणनीतिहरू कस्ता बनाउने ?
१. भौतिक विकासका लागि प्राविधिकहरूको सहयोगमा इस्टमेट निर्माण गरी सोही बमोजिम उपभोक्ता समितिहरू गठन गरी सरकारी नियमानुसार कार्य गर्ने ।
२. टेलिफोन डाइरेक्टरी, पर्चा तथा पम्लेट निर्माण गरी छाप्ने र वितरण गर्ने, भिडियो निर्माण गरी विभिन्न माध्यमबाट प्रचारप्रसार गर्ने ।
३. सम्पदाहरूको संरक्षण र संवर्द्धनमा लाग्नु पर्नाका कारण र स्थानीयको भूमिका विषयमा तालिम सञ्चालन गरी (खासगरी महिला तथा युवा) स्वयंसेवक छनोट गर्ने ।
४. तालिम तथा प्रशिक्षणमा विभिन्न अध्ययन संस्था, निकाय र बोम्पो केन्द्रीय कार्यसमितिको पदाधिकारी समेत उपस्थित गराउने ।
५. स्थानीय वडा स्तरमा समिति गठन गरी दर्ता गर्न सघाइ नियमित बैठक तथा समन्वय गर्ने ।
६. बोम्पो विषयमा प्राज्ञिक अनुसन्धान गरी जनमानसमा सही जानकार दिने ।
७. तन्त्र, साधना र जडीबुटी प्रयोगको ज्ञान हस्तान्तरण गराउन पहल गर्ने ।
८. आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनका लागि समेत प्रचार गर्ने ।
आशा र अनुरोध
स्थानीय तहमा पर्यटकीय सम्भाव्य स्थानहरूको संरक्षण र संवर्द्धन गरिनु आवश्यक छ । दिगो आम्दानीको स्रोत भनेको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्वका स्थानहरूको प्रवर्द्धन नै हो । यदि यस्ता स्थानहरूबारे स्थानीयमा जनचेतना वृद्धि गरी स्वयंसेवकहरू परिचालन गर्न सकेमा रोजगारको सम्भाव्यता बढ्न जान्छ ।

आन्तरिक तथा बाह्य पर्यटकको आगमनले स्थानीय उत्पादनको व्यापार बढ्नुका साथै होमस्टे, होटेल र लज व्यवसाय पनि बढ्न जानेछ । त्यसैले अभौतिक सम्पदाको रूपमा रही आएको तामाङ समुदायको एक महत्त्वपूर्ण खम्बा बोम्पो संस्कृतिको संरक्षण र संवर्द्धनको लागि कार्यक्रम गर्न बजेट व्यवस्थापन गरी कार्य अगाडि बढाउनु आवश्यक छ ।
साभार,लेखक -गोपाल फ्युबा तामाङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here