अन्तर्राष्ट्रिय खबर । सी चिनफिङ चीनको नेतृत्वमा तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । चिनियाँ जनकांग्रेसले कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङलाई शुक्रबार तेस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित गरेको हो । सीका विश्वासपत्र ली चियान शनिबार प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । संघाईको पूर्वसचिव रहेका लीलाई महाधिवेशनले पार्टीको शक्तिशाली ७ सदस्यीय स्थायी कमिटीमा निर्वाचित गरेको थियो ।
गत अक्टोबरमा भएको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को महाधिवेशनले सीलाई तेस्रो कार्यकाल लागि महासचिव निर्वाचित गरेसँगै सत्तामा निरन्तरता निश्चित भइसकेको थियो । त्यसैगरी पार्टीको स्थायी कमिटीको वरीयता क्रममा दोस्रो नम्बरमा ली थिए ।
२०१८ चिनियाँ जनकंग्रेस अधिवेशनले २ कार्यकालको व्यवस्थालाई हटाउन संविधान संशोधन गर्दै सीलाई बाटो खोलिदिएको थियो । माओत्से तुङमा अत्यधिक शक्ति केन्द्रीकरण गर्दा उत्पन्न भएको समस्यालाई समाधान गर्न देङ स्याओ पिङले सामूहिक नेतृत्वको विषयलाई अघि सारेका थिए । जसलाई सीपीसीले ४ दशकसम्म निरन्तरता दिएको थियो ।
सी र प्रधानमन्त्रीमा निर्वाचित ली चियान ।
‘देङले एक व्यक्तिको नेतृत्वभन्दा पनि सामूहिक नेतृत्व र विविधीकृत नेतृत्व भयो भने गल्ती कम हुँदै रहेछ भनेर कार्यकालको समय तोक्न थालेको र नेतृत्वलाई विविधीकरण गरेका थिए । त्यो निरन्तरता दिँदै आए । महासचिव हुँदै २–२ कार्यकाल राष्ट्रपति भए,’ इन्स्टिच्युट फर इन्ट्रिग्रेटेड डेभ्लेप्मेन्ट स्टडिज (आईआईडीएस) का सिनियर रिसर्च फेलो अखिलेश उपाध्यायले भने, ‘अहिले त्यसलाई हटाएर अनन्तकालसम्म शासनमा रहन सक्ने बनाइएको छ ।’
कम्युनिस्ट पार्टीको शासन सुरु भएपछि अत्यधिक शक्ति आफूमा केन्द्रीकरण गरेका माओले अघि सारेको सामूहिक खेती प्रणाली, सांस्कृतिक क्रान्ति र औद्योगिकीकरणको नीति असफल भएको थियो । माओका योजनामा गल्ती पनि थिए, जसलाई सुधार्नका लागि देङले चिनियाँ अर्थतन्त्रलाई खुला बनाउँदै लैजाने नीति लिए भने पार्टी नेतृत्वलाई विधीकरण गर्ने र सामूहिक नेतृत्वमा लगेका थिए । जसले चीनलाई विश्वको शक्तिशाली मुलुक बनाउन काम गरेको थियो ।
पछिल्लो दुई कार्यकालमा राष्ट्रपति सीले चीनले पछिल्लो समयमा प्राप्त गरेको उपलब्धिलाई ‘पुनरोदय’ भन्दै आएका छन् । तर, आन्तरिक रूपमा बढ्दै गएको क्षेत्रगत र आर्थिक असमानताका लागि कम गर्नका लागि ‘साझा भविष्य’ को नारा अघि सारेका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा तेस्रो कार्यकालको शासन सुरु गर्न लागेका सीले लिन नीतिले त्यसको आन्तरिक र बाह्य दुवै प्रभाव हुने उपाध्यायले बताए ।
‘कार्यकालको सीमा हटाउने, नीति क्षेत्रलाई पनि नियन्त्रण गर्ने र राष्ट्रवादी नीति लिँदै आएको चीन कहाँ जान्छ भनेर अहिलेसम्म प्रश्न नै छ,’ उपाध्यायले भने ।
बेलायतसँग अफिम युद्धमा पराजित भएपछि कमजोर बनेको चीन माओकालसम्म गरिब देशका रूपमा थियो । खिसी गर्नेहरूले चीनलाई ‘एसियाको रोगी’ भन्ने गरेका थिए । अफिम युद्धदेखि १९४९ मा कम्युनिस्ट शासन स्थापनासम्मको समयलाई सीपीसीले ‘अपमानको शताब्दी’ को रूपमा भन्दै आएको छ । जसमा चीनमा आर्थिक रूपमा निकै कमजोर बन्न पुगेको थियो भने विदेशी शक्तिको अघि आफ्नो भौगोलिक अखण्डतालाई पनि जोगाउन सकेको थिएन ।
अमेरिकाको वासिङ्टनमा रहेका अन्तर्राष्ट्रिय मामिलाका लेखक अनिल सिग्देलले सीको तेस्रो कार्यकालमा आन्तरिक रूपमा नियन्त्रणकारी, बढ्दो आर्थिक असमानता कम गर्ने र वैदेशिक नीति आक्रामक हुने ठान्दछन् ।
देशभित्र एकता नभएर बाह्य शक्तिले हस्तक्षेप गर्ने भाष्य चीनभित्र अझै मजबुत भएर जाने उनी बताउँछन् । ‘सीपीसीको भाष्य अन्तरिक रूपमा नमिले बाहिरी शक्ति कमजोर बनाउन लाग्ने छन् भनेर अझै बढ्ने देखिन्छ,’ सिग्देलले भने, ‘बाह्य शक्तिहरू चीनविरुद्ध लागेकाले चिनियाँहरू एकताबद्ध हुनुपर्छ भन्ने हुन्छ र कम्युनिस्ट पार्टीमार्फत थप नियन्त्रण हुन्छ ।’ ‘इन्डिया इन द एरा अफ चाइना बीआरआई’ पुस्तकका लेखक सिग्देलले आर्थिक तथा भौगोलिक रूपमा असमानताका हटाउनका लागि चीनले नीति लिने र ठूला कम्पनीहरूमाथिको नियन्त्रणलाई अझै बढ्ने बताएका छन् ।
अक्टोबरमा भएको महाधिवेशनले पार्टी निर्णय त्यसमा पार्टीभित्र पनि महासचिव सीलाई कोर नेतृत्वमा स्थापित गरिएको छ । चीनमा बढ्दो आर्थिक असमानताका लागि सीले कदम चाल्ने नीतिहरू दोस्रो कार्यकालमा सुरु गरेका थिए । चीनको आर्थिक विकासको केन्द्र पूर्व–दक्षिण तटीय क्षेत्रमा बढी र पश्चिम–दक्षिण क्षेत्रमा निकै कम छ । ‘दोस्रो कार्यकालबाट सुरु भएको अर्थतन्त्रसम्बन्धी नीतिहरूलाई आर्थिक वृद्धिदरमा जोड दिनेभन्दा पनि असमानता कम गर्नतर्फ हुने देखिन्छ,’ सिग्देलले भने, ‘मार्क्सवादी र समाजवादी नीतिहरूलाई अझै बढी अघि बढाइन्छ ।’
आर्थिक खुलापनलाई अंगाले पनि चीनले उत्पादन क्षेत्रमा ठूलो फड्को मारेको थियो । चीनलाई विश्वको कारखाना भनिँदै आएको छ । सीपीसीले आफूले लिँदै आएका नीतिलाई चिनियाँ विशेषतासहितको समाजवाद भन्ने गरेको छ । २०३५ सम्म मध्यस्तरको विकासित र २०४९ सम्ममा उन्नतस्तरको विकसित समाजवादी देश हुने लक्ष्य राखेको छ ।
सीको वैदेशिक नीति कसरी अघि बढ्छ भन्ने विषय अमेरिकासँग चीनको सम्बन्धले निर्धारण गर्नेछ । दोस्रो कार्यकालमा सीको विदेश नीति मुखर भएर आएको छ । अमेरिकाले पनि एसियाका क्षेत्रीय शक्तिहरूको साथ लिएर विभिन्न गठबन्धन निर्माण गर्न थालेको छ । कतिपय अमेरिकी सैनिक अधिकारीहरूले राष्ट्रपति सीको यही कार्यकालभित्र दुवै देशबीच सैन्य टकरावसम्मको अवस्था आउन सक्ने सम्भावना आकलन गरिरहेका छन् ।
सैन्य शक्ति झन् बढाउँदै ल्याएको चीनको आगामी रणनीति सीको निरन्तरको नेतृत्वले कस्तो बनाउँछ भन्नेमा रुस–युक्रेन द्वन्द्व कसरी टुंगो लाग्छ त्यसले धेरै फरक पार्ने विश्लेषकहरूको मत
चीनले पछिल्लो ५ दशकमा प्राप्त गरेको सफलतापछि सोभियत संघको पतनपछि अमेरिकाको एक ध्रुवीय विश्वलाई चीनले चुनौती दिँदै आएको छ । अमेरिका र चीन दुवैले आफ्नो रक्षा बजेट बढाएका छन् । युद्धको तयारी अवस्थालाई झनै मजबुत बनाएका छन् । चीन र अमेरिकाका दस्तावेजहरूमा एकले अर्कोमाथि तनाव बढाउँदै लगेको आरोप लगाउने गरेका छन् । विभिन्न क्षेत्रमा बेइजिङ र वासिङ्टनले प्रतिबन्धको घोषणा गर्न थालेका छन् । हालै अमेरिकामा संसद्मा प्रस्तुत गरिएको सुरक्षा चुनौतीसम्बन्धी प्रतिवेदनमा चीनलाई प्रमुख चुनौतीको रूपमा चित्रण गरिएको छ ।
सिग्देल यसको धेरै असर एसिया प्रशान्त क्षेत्रमा पर्ने बताउँछन् । चीनले आफ्नो ‘ब्याक यार्ड’ सम्झिँदै आएको यस क्षेत्रमा अमेरिका लामो समयसम्म शक्तिको रूपमा रहँदै आएको छ । ‘अहिलेदेखि तयारी नगर्ने हो भने चीनलाई रोक्न सकिँदैन भन्ने धारणा अमेरिकामा निकै देखिन्छ । एसियामा भएका आफ्नो सैनिक शक्ति र हतियारहरूलाई तम्तयार अवस्थामा राख्नुपर्छ भन्ने देखिन्छ,’ सिग्देलले भन्छन् । यसमा ताइवानको यथास्थितिको अवस्थामा कस्तो हुन्छ भन्ने विषयले निर्धारण गर्ने उनको तर्क छ ।
बेइजिङले ताइवानमाथि आफ्नो सार्वभौमिकताको दाबी गर्छ । एकीकरण चिनियाँ कम्युनिस्ट पार्टीको प्राथमिकतामा छ । आफूलाई स्वतन्त्र घोषणा गरे ताइवानलाई बल प्रयोग गर्ने चेतावनी चीनले दिँदै आएको छ । अमेरिका भने ताइवानको यथास्थितिमा परिवर्तन गर्नु हुँदैन भन्दै आएको छ । अमेरिका र अन्य क्षेत्रीय शक्तिहरू चीनको बढ्दो शक्तिसँग तर्सिएका देखिन्छन् । जसको चीनलाई लक्षित गर्दै गठबन्धनहरू निर्माण गर्न थालेका छन् ।
‘चीन एक प्रकारको एक्लिँदै गएको पनि छ । पश्चिमा विश्व भनिने युरोप र उत्तर अमेरिका मात्रै नभएर जापानले चीनबाट सुरक्षाको खतरालाई महसुस गरेर आफ्नो सैन्य शक्तिलाई झनै मजबुत गर्दै लगेको छ,’ उपाध्यायले भने । चीनलाई लक्षित गर्दै अमेरिका, बेलायत र अस्ट्रेलियाको सैनिक गठबन्धन छ । त्यसैगरी अमेरिका, जापान, अस्ट्रेलिया र भारतको पनि अर्को शक्ति गठबन्धन छ । एसियाको शक्तिको रूपमा उदाउँदै गरेको दक्षिण कोरिया पनि पश्चिमा मुलुकहरूको साझेदार नै हो ।
रुस–युक्रेन युद्ध कसरी टुंगो लाग्छ भन्नेमा चीनको आगामी रणनीति प्रस्ट हुँदै जाने उपाध्यायको धारणा छ । ‘रुसले चीनलाई के इम्प्रेसन दिएको थियो भने युक्रेनले तुरुन्तै आत्मसमर्पण गर्छ । एक वर्ष भइसक्यो युक्रेनले घुँडा टेकेको छैन,’ उनी भन्छन्, ‘त्यसमा चीनले कसरी हेर्छ भन्ने महत्त्वपूर्ण छ । रुसलाई पूरै समर्थन गर्छु भन्यो भने अथवा युक्रेनको युद्ध निकै लामो समयसम्म चल्यो हामीले सोचेको जस्तो भएन भनेर रुससँग दूरी बढाउँदै लग्यो भने त्यसले बेइजिङको नीतिमा फेरबदल गर्नेछ ।’
२०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्नुअघि बेइजिङमा भएको शीतकालीन ओलम्पिकको उद्घाटन कार्यक्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी भएका थिए । कतिपयले त्यसै समयमा दुवै नेताहरूबीच युक्रेन युद्धको विषयमा छलफल भएको बताउँदै आएका छन् । उपाध्याय र सिग्देल दुवै चीनले लिने नीतिले आगामी दिनमा नेपालसहित दक्षिण एसियाका देशहरू प्रभावित हुने बताउँछन् ।
‘दक्षिण एसियाको सबै मुलुकहरू कमबेसी होला तर सबै प्रजातान्त्रिक नै छन् । तर अहिले चीन भनेको पचास वा साठीको दशकको चीन रहेन । अहिले विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको छ । आफ्नो राजनीतिक र शासकीय स्वरुप चाह्यो भने दक्षिण एसियामा टेक्टोनिक सिफ्ट हुन्छ,’ उपाध्यायले भने, ’माओले आँटै गरे पनि अर्थतन्त्र कमजोर थियो । अहिले शक्तिशाली भएको चीनले चाहेमा ठूलो हलचल हुन्छ ।’
२०२२ मा भारत र चीनबीच सीमा क्षेत्रमा झपड भएको थियो । दुवै देशबीच हालसम्म सीमाकंन भएको छैन । जसले दुवै देशबीच तनाव उत्पन्न गराउने गरेको छ । जसको असर नेपालसहितको देशमा पर्ने गर्छ ।
‘चीनले अन्य देशबाट एक्लिएर दक्षिण एसियालाई राम्रोसँग सहयोग गर्छु भनेर आउने हो कि ? सीको दोस्रो कार्यकालमा मुखर हुँदै आएको विदेश नीति तेस्रो कार्यकालमा झनै मजबुत भएर जाने देखिन्छ,’ उनले भने, ‘चीनले म शक्ति भएर जान्छु भनेर आयो भने हाम्रो प्रजातान्त्रिक शासन व्यवस्थामा खलल हुन सक्छ । माओले आफ्नो क्रान्तिलाई निर्यात नै गरेका थिए । सीले अहिलेसम्म आक्रमक रूपमा राजनीति निर्यात गरेका छैनन् ।’
सिग्देलले पछिल्लो समयमा चीनसँग सीमा जोडिएको क्षेत्रमा अमेरिकाले आफ्ना कूटनीतिलाई राम्रोसँग सञ्चालन गरेको बताउँछन् । ‘पछिल्लो समयमा अमेरिकाले राम्रोसँग कूटनीति गरेको देखिन्छ । नेपाल र फिलिपिन्समा त्यसको असर देखियो पनि,’ सिग्देलले भने, ‘छिमेकी अमेरिकी प्रभाव चीनले रुचाएको विषय होइन । अमेरिका प्रभाव ज्यादै बढ्यो भने तिब्बतको पक्षमा कस्तो नीति लिन्छ भन्ने डर छ ।’