गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ खान्दुलाका दीर्घबहादुर सापकोटाले घरमै बसीबसी बनाएको चोयाका मुढा (बस्ने साधन) बिक्री गरेर वार्षिक रु डेढ लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ ।ग्रामीण रोजगार कार्यक्रमअन्तर्गत दुई वर्षअघि वडा कार्यालयले आयोजना गरेको १५ दिने मुढा बुनाइ तालिम लिएपछि सापकोटाले चोयाका सामग्री निर्माण गर्न थाल्नुभएको हो । गाउँघरमा पाइने बाँसबाट चोया निकाली उहाँ मुढा, डोका, डालालगायत सामग्री निर्माण गर्नुहुन्छ ।
त्यसैगरी आइपिएम पाठशालाअन्तर्गत दुई महिने कृषि तालिम लिनुभएका मालिका गाउँपालिका–५ देवीस्थानका ३१ वर्षीय जगबहादुर बुढाले गाउँमै तरकारी खेती गरेर मनग्गे आम्दानी गर्दै आउनुभएको छ ।
सापकोटा र बुढा मात्रै होइन पछिल्लो समय कृषि र पशुपालनमा प्राविधिक सीप सिकेपछि म्याग्दीका युवा गाउँमै स्वरोजगार बन्न थालेका छन् । रोजगारीका लागि विदेश जान तयार रहेका र वैदेशिक रोजगारीबाट फर्किएका युवा अहिले घर–गाउँमै व्यावसायिक बन्ने प्रयासमा लागेका हुन् । गाई, बाख्रा, बङ्गुुर, कुखुरा र मौरीपालन, बेमौसमी तरकारी खेतीलगायतको तालिम पाएपछि विशेषगरी १६ देखि ३० वर्ष उमेरका युवा कृषिमा आकर्षित भएका हुन् ।
जिल्लाका मालिका, धवलागिरि, मङ्गला, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका युवा अहिले कृषि र पशुपालनमा व्यावसायिक बन्न थालेका हुन् । तालिम मात्र होइन, थोरै मात्रामा ‘बीउ पूँजी’ पाएपछि ती युवालाई खेतीपाती र पशुपालनमा सहयोग पुगेको छ ।
लघुउद्यम विकास समिति, कृषि सहकारी तथा युवा स्वरोजगार लक्षित परियोजनालाई स्थानीय सरकारले साथ दिएपछि युवा लाभान्वित भएका हुन् । जीविकोपार्जनको वैकल्पिक उपायको खोजी र सीप विकासमार्फत स्वरोजगार, उद्यम र स्थानीयस्तरमै जीविकोपार्जनका लागि सहयोग उद्देश्यले कृषिमा युवा परिचालन गरिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।
उद्यमशीलता र व्यावसायिक योजनाबारे युवालाई तालिम दिइएको युवा स्वरोजगार परियोजना संयोजक सन्तबहादुर कार्कीले बताउनुभयो । “कृषि र पशुपालन मात्र होइन, युवालाई सशक्तीकरण, सुरक्षित आप्रवासन, मानव बेचबिखन नियन्त्रण, नेतृत्व विकासलगायतबारे पनि तालिम दिइएको छ”, उहाँले भन्नुभयो, “युवा भन्नेबित्तिकै व्यवसाय मात्रै गर्छन् भन्ने हुँदैन, युवा चौतर्फी क्षेत्रमा जोडिने भएकाले उनीहरूलाई तालिम, सचेतना र प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेका हौँ ।”
यसैगरी धवलागिरि गाउँपालिकाले पनि युवा स्वरोजगारका विभिन्न तालिम सञ्चालन गरेपछि सीप सिकेर व्यवसाय गर्ने युवा युवतीको सङ्ख्या बढेको बताइएको छ । धवलागिरि गाउँपालिकामा पशुपालन, जडीबुटी खेती, फलफूललगायत क्षेत्रमा व्यावसायिकरूपमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको धवलागिरि–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।
मङ्गला गाउँपालिकामा प्राविधिक सीप सिकेर व्यावसायिकरूपमा लाग्ने युवाहरूको सङ्ख्या सबैभन्दा बढी रहेको छ । यहाँका युवा विशेषगरी कृषि पेसातर्फ आकर्षित भएका गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । बानियाँका अनुसार गाउँपालिकाभित्र विगत तीन वर्षको अवधिमा ५० भन्दा बढी युवा व्यावसायिक कृषि पेसामा लागेका छन् ।
हिउँदे वर्षा नहुँदा सुक्न थाल्यो बाली : किसान चिन्तित
लामो समयसम्म हिउँदे वर्षा नभएपछि हिमाली जिल्ला म्याग्दीमा हिउँदेबाली (गहुँ, जौ, उवा, केराउ) लगायत तरकारी खेती सुक्न थालेको छ । यस वर्ष म्याग्दीमा बर्खेबाली–धान र कोदो) को उत्पादन पनि घटेको र हिउँदेबालीको उत्पादनमा पनि कमी आउने सङ्केत देखिएकाले कृषक चिन्तित भएका छन् ।
गत असोजदेखि यहाँ आकाशे पानी परेको छैन । हिउँदे बाली लगाउने समयमा भएको खडेरीका कारण लगाइएकोे बाली सुक्न थालेको कृषकले बताएका छन् । यस वर्ष खडेरीका कारण जिल्लामै गहुँ, जौ, उवा, केराउ, मुसुरो, हिउँदे आलु तथा तरकारीको उत्पादनमा निकै कमी हुने देखिएको म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो । खेतीपातीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश कृषक उत्पादनमा कमी आउने देखिएपछि चिन्तित भएका छन् ।
दुःख गरेर लगाएको बाली हात नपर्ला भन्दै कृषक चिन्तित भएका हुन् । करिब नौ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती हुँदै आएको म्याग्दीमा ५२ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा भएको छ । सिँचाइको सुविधा नभएका ठाउँमा कतिपय कृषकले गहुँ बाली लगाउन नपाएका स्थानीय तहका कृषि प्राविधिकले बताएका छन् ।
गहुँ छरेका ठाउँमा पनि खडेरीका कारण सुक्न थालेपछि १० देखि १५ प्रतिशतसम्म उत्पादन घटने अनुमान कृषि प्राविधिकको छ । लामो समयसम्म पानी नपर्दा र सिँचाइको पनि सुविधा नभएको क्षेत्रमा हिउँदे बाली सुक्न थालेको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । म्याग्दीका किसानले परम्परागत कृषि औजारको ठाउँमा प्रविधिको प्रयोग गर्न थालेका छन् । खेतीपातीका लागि प्रविधिले किसानलाई सजिलो बनाइदिए पनि प्रकृतिले भने साथ नदिँदा निराश बन्नुपरेको उनीहरूको भनाइ छ ।
प्रविधिको बढ्दो प्रयोगसँगै हिमाली जिल्ला म्याग्दीमा खेतीपाती गर्ने तरिका पनि फेरिएको छ । परम्परागतरूपमा प्रयोग हुँदै आएका हल गोरुको ठाउँमा अब खेतका गह्रा र फोहोटामा पनि ट्र्याक्टर र मिनिट्रिलर प्रयोग हुन थालेका छन् । गाउँमा हल गोरु पाल्ने चलन हराउँदै गएको छ । हलो, जुवालगायत परम्परागत कृषि सामग्री निर्माण गर्ने रैथाने सीप पनि विस्थापित भएको छ ।
कृषिमा प्रविधिको प्रयोग बढ्दै जाँदा कृषकलाई सुविधा पुगेको भए पनि सिँचाइ, मल, बीउ र कृषिका लागि जनशक्तिको भने अभाव देखिएको खबरका अगुवा कृषक शोभित सापकोटाले बताउनुभयो । कृषक निर्वाहमुखी कृषि प्रणालीबाट विस्तारै व्यावसायिक कृषितर्फ आकर्षित हुँदै गएका छन् । परम्परागत तरिकाले खेती लगाउँदा बेहोर्नुपर्ने धेरै किसिमका झन्झटबाट पनि मुक्ति मिलेको कृषकले बताएका छन् ।
वैदेशिक रोजगारीका कारण गाउँमा कृषि मजदुर र जनशक्तिको अभाव हुन थालेको बेला मिनिट्रिलर र ट्र्याक्टर उपयोगी माध्यम भएको स्थानीय कृषकले बताएका छन् । अहिले म्याग्दीका सबै गाउँमा मिनिट्रिलरको प्रयोग व्यापकरूपमा हुन थालेको छ । हल गोरु नारेर खेती गर्ने चलन हराउँदै गएको छ । कृषिमा आएको यान्त्रिक प्रयोगका कारण गोरु पाल्ने, बाह्रै महिना घाँसपात गर्ने र हेरालु राख्नुपर्ने झन्झट पनि हटेको कृषकको भनाइ छ ।