शीतलहर बाट उत्पन्न चिसोजन्य रोगले बर्सेनि मर्छन् जनता, सरकार मौन:यस्तो छ पछिल्लो तथ्यांक

काठमाडौँ । तराईबासीले शीतलहरको पीडा हरेक वर्ष भोग्नुपर्छ । हरेक वर्ष शीतलहर मान्छेको मृत्युको कारण पनि बन्ने गरेको छ ।
यो वर्ष पनि शीतलहर कारण बनेर धेरैको ज्यान गएको छ । हालसम्म शीतलहरबाट नै ज्यान गएको भनेर सरकारसँग डाटा छैन । 
 
‘शीतलहरबाट नै ज्यान गएको भनेर चिकित्सकहरूले प्रमाणित नगरेसम्म डाटा राख्न पाइँदैन । २०६० र २०७४ सालमा बाहेक शीतलहरबाट मृत्यु भएको रेकर्ड छैन,’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले भने । 

केही दिनयता पर्सामा ८ जना, सर्लाहीमा ६ जना, सप्तरीमा १६ जनाको शीतलहर कारण बनेर मृत्यु भएको खबर सार्वजनिक भएका थिए । सप्तरीमा शीतलहरबाट २९ जनाको मृत्यु भएको र प्रहरीले रिपोर्ट नै गलत दिएको समाचार स्थानीय सञ्चारमाध्यामले छापेका  छन् ।

तर, वैज्ञानिक रूपमा शीतलहरकै कारण मृत्यु भन्ने पुष्टि नभएकाले प्राधिकरणले डाटा राख्ने गरेको छैन । 

‘निमोनिया, दीर्घ रोगीलगायत व्यक्तिहरू शीतलहरका बेला बढी प्रभावित हुन्छन्, तराईका जिल्लामा तापक्रममा अचानक आउने परिवर्तनका कारण पनि दीर्घरोग भएका बिरामीलाई असर गर्छ र ज्यान गुमाउनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यस्तो अवस्थामा अरू रोग लागेका व्यक्तिहरूमा शीतलहर कारक बन्छ । तर, शीतलहरकै कारण कसैको ज्यान जाँदैन,’ प्रवक्ता डा. भट्टराईले भने । 

शीतलहर र विपद् व्यवस्थापनको समस्या हरेक वर्ष दोहोरिन्छ । स्थानीय तह र विशेष गरी वडाहरूले स्थानीय विपद् व्यवस्थापन कार्यालयसँग समन्वय नगरेका कारण यस्तो अवस्था दोहोरिरहेको देखिन्छ । 

हरेक वर्ष उस्तै अवस्था दोहोरिएपछि हजुरआमाले सुनाउने छेपारोको कथा सान्दर्भिक लाग्न थाल्छ । हजुरआमाले सुनाएको छेपारोको कथाको सारमा हिउँदका रातहरूमा छेपारोलाई जाडो हुन्छ । ‘उसले बिहान भएपछि मुडा काट्ने र राति तापेर बस्ने भन्ने योजना बनाउँछ । जब बिहान घाम लाग्छ, अनि छेपारो ढुंगामा पारिलो घाम ताप्दै बस्छ, पुनः राति भएपछि भोलिका लागि हिजोकै योजना बनाउँछ ।’

हरेक वर्ष सरकारले शीतलहरका बेला यस्ता घटना दोहोरिन नदिने भन्दै आश्वासन दिन्छ । कतिपय अवस्थामा मृत्यु भएका व्यक्तिहरूको परिवारलाई राहतका नाममा केही पैसा पनि दिन्छ ।

तर, बर्सेनि दोहोरिने शीतलहर जस्तो विपद् आउनुपूर्व कुनै पनि तयारी गरेको पाइँदैन । 

‘शीतलहर हुने जिल्लाहरूका बारेमा थाहा हुन्छ, कुन जिल्लामा कति शीतलहर हुन्छ भन्ने पनि अनुमान लगाउन सकिन्छ । तर, शीतलहरबाट कति प्रभावित हुन्छन्, कुन नागरिक शीतलहरको चपेटामा पर्छन्, कुन व्यक्ति कस्ता रोगबाट ग्रसित छन् भन्ने विषयमा स्थानीय वडाले समन्वय नगरिदिएको पाइन्छ,’ प्रवक्ता भट्टराईले भने । 

प्राधिकरणले हरेक विपद्को पूर्वानुमान गरेर त्योअनुसारको पूर्वतयारी गरिरहेको डा. भट्टराईको भनाइ छ । उनले लामो समय राख्दा समस्या नपर्ने विपद्का सामानहरू स्ट्यान्डबाइ राखेको समेत बताए ।

‘वडाले हामीसँग सहयोग मागेको अवस्थामा जाडोको कपडा, ब्लांकेट पनि उपलब्ध गराइन्छ । शीतलहरको प्रभावबाट टाढा राख्न कोसिस गरिन्छ । तर, कसलाई आवश्यक छ भन्ने थाहा नहुने ठुलो चुनौती हो,’ उनल थपे । 

गत वैशाख १ देखि पुस ३० गतेसम्ममा नेपालभर ३ हजार २८ विपद्का घटना भएका छन् । जसका कारण ३५३ जनाको मृत्यु भएको छ भने ३३ जना अझै बेपत्ता छन् । ७८९ जना घाइते छन् । ५ हजार ४८२ परिवार प्रभावित भएका छन् । यस्तै, अनुमानित २ अर्बभन्दा बढीको आर्थिक क्षति भएको पाइन्छ ।

विशेष गरी मनसुनी विपद्लाई पूर्वानुमान गरेर प्रतिकार्य योजना बनाएर काम गर्दा प्रभावकारी भएको पाइन्छ । विगत १० वर्षमा बाढीबाट हुने मानवीय क्षतिमा कमी आएको भट्टराईको भनाइ छ ।

‘हामीले १० वर्षलाई हेर्ने हो भने बाढीका कारण हुने मानवीय क्षतिलाई न्यूनीकरण गर्दै गएका छौँ । अहिले बाढी कहाँ आउँछ, कति आउँछ लगायत विषय सूचना दिने भएका कारण त्यसमा कमी आएको हो । स्थानीय तहले सहयोग गरेको अवस्थामा शीतलहरबाट हुने क्षति पनि केही कम गर्न सकिन्छ,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here