काठमाडौ । निर्वाचन आयोगले पूर्ण रूपमा निर्वाचनको प्रक्रिया नटुंगिएसम्म आचारसंहिता लागू हुने बताएको छ।
आयोगले आचारसंहिताको कार्यान्वयनकोे सम्बन्धमा कानूनले स्पष्ट रूपमा निर्वाचन आयोगले तोकेको मितिबाट आचारसंहिता लागू हुने र आचारसंहिता निर्वाचनको सम्पूर्ण मत परिणाम सार्वजनिक नभएसम्म जारी रहने बताएको हो ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगले तोकेको समयबाट आचारसंहिता लागू भएको र आचारसंहिता निर्वाचनको सम्पूर्ण मत परिणाम नआएसम्म रहने स्पष्ट पारे।
उनले समानुपातिक निर्वाचन प्रणालीको मतगणना अहिले जारी रहेकाले आचारसंहिता जारी रहने बताए।
उनले समानुपातिक निर्वाचन प्रणालीको सबै निर्वाचन क्षेत्रबाट दललाई आएको मतहरूको टुंगो लागिसकेपछि मतहरूको हिसाब गरेर दलहरूलाई पत्र लेख्ने र दलहरूले प्राप्त सिट संख्या मध्येबाट वर्ग समूह मिलाएर बन्दसूची भित्रबाट सांसदको नाम पेस गर्नुपर्ने उल्लेख गरे।
उनले निर्वाचन प्रक्रियाको सम्पूर्ण काम सकिसकेपछि आयोगले राष्ट्रपतिसमक्ष निर्वाचनको अन्तिम परिणाम बुझाउने र निर्वाचन परिणाम सार्वजनिक गर्ने बताए।
उनले भने, ‘आचारसंहिताको कार्यान्वयनकोे सम्बन्धमा कानूनले स्पष्ट रूपमा निर्वाचन आयोगले तोकेको मितिबाट आचारसंहिता लागू गर्न सक्नेछ भन्नेछ। लागू गर्न सक्नेले त्यसलाई हटाउन सक्ने पनि अधिकार राख्छ। निर्वाचन, प्रचलन, व्यवस्थापन र कानूनले पनि धेरै ठाउँमा भनेको कुरा के हो भने निर्वाचन नसकिएसम्म आचारसंहिता लागू रहन्छ। हामी अहिले निर्वाचनकै क्रममा छौं। समानुपातिक निर्वाचन प्रणालीको पनि गणना अहिले चलिरहेको छ। समानुपातिक निर्वाचन प्रणालीको सबै निर्वाचन क्षेत्रबाट दललाई आएको मतहरूको हिसाब गरिसकेपछि दललाई हामीले पत्र लेख्छौं।’
उनले अघि भने, ‘यति दिनभित्र आफ्नो प्राप्त सिट संख्या मध्येबाट वर्ग समूह मिलाएर बन्दसूची भित्रबाट पेस गर्नु भनिन्छ, नमिले फेरि पठाइन्छ। त्यो पनि एक किसिमले निर्वाचनको एउटा पार्ट नै हो। आयोगले सबै कुरा टुंग्याएर अन्तिम प्रतिवेदन राष्ट्रपतिकहाँ बुझाएर परिणाम प्रकाशन गर्छ। यो बेला सम्मको अवस्था आचारसंहिता लागू भएकै अवस्था हो।’
सहायक प्रवक्ता अर्यालले मंसिर २८ गतेसम्ममा निर्वाचनको सम्पूर्ण काम सकेर राष्ट्रपति समक्ष पेस गर्ने बताए।
उनले समानुपातिक मत परिणाम नआउँदासम्म निर्वाचन पूरा भएको नमानिने बताए।
उनले भने, ‘आयोगले वस्तुनिष्ठ योजना बनाएको थियो। ४ गते वस्तुनिष्ठ रूपमा देशभर निर्वाचन सम्पन्न हुन्छ। १३ गतेसम्म नतिजा निकाल्छौं, १४ गते दललाई पत्र लेख्छौं समानुपातिकको लागि र २२ गतेसम्म टुंग्याउने भनेका थियौं। सबै कुरा योजना अनुसार नहुने रहेछ, कतै विवादहरू भए, कतै मत गणनामा विवाद भए, मतका प्रकृतिमा पनि विवाद आयो। समानुपातिक मत परिणाम नआउँदासम्म निर्वाचन पूरा भएको मानिँदैन। समानुपातिकमा उम्मेदवार भनेका दल हुन्।’
उनले अघि भने, ‘कुनै पनि उम्मेदवारको एक मत बाँकी रहँदासम्म निर्वाचन अधिकृतले नतिजा घोषणा गर्न सक्दैन। सबै निर्वाचन क्षेत्रबाट दलले प्राप्त गर्ने मत यकिन भइसकेपछि हामीले सूत्र प्रयोग गरेर कुन दलको भागमा कति सिट पर्छ टुंग्याउँछौं। आयोगले चाहेरमात्रै नहुने कुराहरू पनि छन्। केही प्रक्रिया लम्बिन सक्छ। हामीले २६/२७ गतेसम्म वा २८ गतेसम्म हामीले राष्ट्रपतिसमक्ष पुर्याउन सक्नेछौं।’
सहायक प्रवक्ता अर्यालले आयोगको योजना अनुसार निर्वाचन नसकिँदा निर्वाचन मत परिणाम आउन केही ढिला भएको बताए।