प्रदेश र प्रतिनिधिसभाको निर्वाचन अघि प्रहरीलाई राजीनामा दिन रोक

काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) का कर्मचारीलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न नभएसम्म स्वैच्छिक राजीनामामा रोक लगाइएको छ ।

चुनावी सुरक्षाको कार्ययोजना निर्माणका क्रममा वा निर्माणपछि कसैले राजीनामा दिँदा जनशक्ति व्यवस्थापनमा समस्या हुने भन्दै आगामी मंसिर ४ अघि दुवै सुरक्षा निकायले स्वैच्छिक राजीनामा दिन रोक लगाएका हुन् ।
प्रहरी र सशस्त्रका खासगरी तल्लो तहका कर्मचारीले राजीनामा दिएर स्वैच्छिक अवकाशमा जाने क्रम बढ्दो छ । सेवा/सुविधा समयअनुकूल वृद्धि नहुने, सरुवा/बढुवामा विभेद हुने समस्याले वा देशभित्रै वा बाहिर आकर्षक रोजगारीको अवसर पाएर पेन्सन पाउने न्यूनतम अवधिपछि प्रहरी र सशस्त्रका तल्लो दर्जामा कार्यरतले राजीनामा दिने गरेका छन् । हाल नेपाल प्रहरीमा करिब ८० हजार र सशस्त्रमा करिब ३७ हजार जनशक्ति रहेकामा प्रहरीका करिब ६२ हजार र सशस्त्रका करिब ३२ हजार जनालाई चुनावमा खटाउन सकिने दुवै सुरक्षा निकायको प्रारम्भिक खाका छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राइले चुनावअघि जनशक्ति बाहिरिँदा चुनावी सुरक्षामा असर पुग्ने सक्ने भएका चुनावअघिसम्म कुनै पनि कर्मचारीको राजीनामा स्वीकृत नगर्न देशभरका युनिटमा निर्देशन दिइएको बताए । ‘सामान्य अवस्थामा औचित्य, कारण र पुष्ट्याइँ खुलाई सबै तहका कर्मचारीले राजीनामा दिएर स्वैच्छिक अवकाशमा जान पाउनुहुन्छ तर अहिले परिस्थिति सामान्य छैन, केही महिनाभित्रै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भरपर्दो र सुरक्षित वातावरणमा मतदान व्यवस्था गर्नुपर्ने दायित्व छ,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here