काठमाडौ । पछिल्लो २४ घण्टामा थप ४ हजार ९०४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ५६२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ३१८ तथा एन्टिजेन विधिबाट १ हजार ५८६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ५ हजार ९२४ जना सङ्क्रमणमुक्त भएका छन् । तेस्रो लहर सुरु भएका यता पहिलो पटक सङ्क्रमितको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या बढी भएको हो । हालसम्म नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख ४८ हजार ३६० जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८९.५ प्रतिशत रहेको छ ।
योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ८७ हजार ३२९ मा पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जनाले ज्यान पनि गुमाएका छन् । नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ७०३ जनाले ज्यान गुमाइसकेका छन् ।
हाल सङ्क्रमितमध्ये ८५ हजार ६३६ जना होम आइसोलेसनमा, १ हजार ६९३ जना संस्थागत आइसोलेसनमा, २८६ आईसीयूमा तथा ४७ जना भेन्टिलेटरमा रहेका छन् ।
मन्त्रालयका अनुसार थप २ लाख ७२ हजार ७४८ जनाले कोभिड–१९ विरुद्धको खोप पनि लगाएका छन् । हालसम्म १ करोड ६५ लाख २७ हजार ७४१ जनाले पहिलो मात्रा, १ करोड ४० लाख १५ हजार ३२४ जनाले दोस्रो मात्रा र ३ लाख ३३ हजार ८३५ जनाले अतिरिक्त मात्रा खोप लगाइसकेका छन् ।