काठमाडौं । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ। रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंसीस्थित त्रिशूली थ्रीबी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइनलाई बुधबार साँझ ७.५ बजेबाट विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो।
यसैगरी, चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नै निर्माण गरिएको चिलिमे हब सबस्टेसन पनि बुधबारनै चार्ज गरिएको छ। उक्त सबस्टेसनमा २२०-१३२ केभी, १६० एमभिएका दुईवटा बैंक गरी ३२० एमभिए र १३२-३३ केभीतर्फ, ५० एमभीए क्षमताका पावर ट्रान्सफर्महरू रहेका छन्।
आयोजनाअन्तर्गतकै त्रिशूली थ्रीबी हब २२० केभी क्षमताको सबस्टेसन यसअघि नै सञ्चालनमा थियो।
त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्न निर्माण गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनले करिब १२०० मेगावाट विद्युत् प्रवाह गर्न सक्छ।
अनुमानित लागत ३ अर्ब ६२ करोड ८९ लाख रुपैयाँ रहेको चिलिमे–त्रिशूली आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैंक (केएफडब्लू)को अनुदान रहेको छ। युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैक (इआइबी)को आयोजनामा सहुलितपूर्ण ऋण रहेको छ।
नेपाल विद्युत प्राधिकरण उच्च भोल्टेज ग्रिड विभागका निर्देशक थर्कबहादुर थापाले प्रसारण लाइन र सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेकाले त्यस क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् जुनसुकैवेला जोड्न सकिने बताए।
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनमा तत्काल चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएका १११ मेगावाटका रसुवागढी, ४२.५ मेगावाटको साञ्जेन र १४.८ मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् चिलिमे हब सबस्टेसनमा जोडिनेछ।
रसुवागढी र साञ्जेन आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा छन्। दसैं र तिहारको सार्वजनिक विदामासमेत कर्मचारी, निर्माण व्यवसायी अहोरात्र खटी प्रसारण लाइन निर्माण सम्पन्न गरिएको थियो।
२८ किलोमिटर लामो प्रसारण लाइनका लागि ७६ वटा टावर निर्माण गरिएका छन्। प्रसारण लाइन समुद्री सतहबाट ६८० देखि २६०० मिटरसम्म पर्ने भूभागमा निर्माण गरिएको छ। ३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नु पर्ने अवस्था थियो।
उक्त स्थानसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको थियो। आयोजनाले लाइन निर्माणका लागि २० किलोमिटरभन्दा बढी पहुँच सडक निर्माण गरिएको छ। हेलिकोप्टरबाटसमेत निर्माण सामाग्री ढुवानी गरी टावर निर्माण गरिएको थियो।
भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुङ्गागिट्टी, बालुवा, टावरका सामान, पानीलगायतका निर्माण सामाग्री मानिस या खच्चडबाट बोकाएर लैजानु पर्ने, बाढीपहिरो,वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध,कोभिड–१९,निर्माणस्थल हिमाली र पहाडी क्षेत्रमा पर्ने भएकाले प्रतिकूल मौसमजस्ता कारणले आयोजनाको निर्माण प्रभावित भएको थियो।
उत्तरगया गाउँपालिका–१ तिरुबाट सोही वडाको सिरुचेतसम्म १ हजार २ सय ३५ मि. लम्बाइमा तार तानिएको छ। मैलुङखोलामाथि पर्ने उक्त खण्ड (मैलुङ क्रसिङ¬)मा ड्रोनको प्रयोग गरी तार तानिएको थियो।
प्रसारण लाइन अन्तर्गत चिलिमे–मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर चार (मल्टी) सर्किट लाइन निर्माण गरिएको छ। कोरियन कम्पनीहरूको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको विद्युत जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको हो। माथिल्लो त्रिशूली–१ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्ने छ।
प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता २०७४को पुसमा कार्यान्वयनमा आएको थियो।