नेपाली राजनितिक दलका नेताहरुको खस्कँदो नैतिकता

हरिप्रसाद शर्मा
छलकपट, ढाँट, विश्वासघात गरेर अघि बढ्नु सामान्यजस्तै बनेको छ । यस्तो किसिमको चतुर्‍याइँ देखाउने मान्छेलाई समाजले ‘टाठो’ भनेर वाहवाही गर्छ भने अनुशासित जीवनशैलीले आफ्नो कर्म गरेर खानेलाई ‘सोझो’ भनेर अवहेलना गर्ने प्रवृत्ति बढ्दो छ ।
मानव समाजमा असल कार्यको बढोत्तरी र खराब कार्यलाई निरुत्साहन गर्न सामाजिक संस्कार तथा मूल्यहरूद्वारा निर्देशित सूक्ष्म पक्षलाई नैतिकता भनिन्छ । के असल अनि के खराब भन्ने कुरा पनि समाज र संस्कृतिसापेक्ष हुन्छ । एउटा समाजको असल कुरा अर्को समाजका लागि खराब हुन सक्छ भने कुनै समाजको खराब पक्ष अर्को समाजको असल पक्ष पनि हुन सक्छ । तर कतिपय विश्वव्यापी रूपमै स्विकारिएका असल र खराब मूल्यहरूसमेत छन् । नैतिकताले के गर्ने र के नगर्ने भन्ने विषयमा एउटा लक्ष्मणरेखा निर्धारण गर्छ ।

जनताको राय
उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कार रकम घोषणा गरेर दिन ढिलसुस्ती गर्ने सरकारी नियतलाई के भन्नुहुन्छ ?

लोकप्रियता कमाउने दाउ

ढिलै भए पनि दिन्छ होला

खेल क्षेत्रप्रति नै असंवेदनशील सरकार
केही भन्न चाहन्नँ

नैतिकताले मानवीय मूल्यहरूलाई निकै नै महत्त्व दिन्छ । व्यक्तिगत रुचि, आकांक्षा र नैतिकताबीच कहिलेकाहीँ तालमेल नमिल्न पनि सक्छ किनकि मानव स्वभावतः स्वार्थी प्राणी भएकाले कहिलेकाहीँ उसले समाजले निर्दिष्ट गरेका नैतिकताका पक्षहरूलाई उल्लंघनसमेत गर्ने गर्छ । व्यक्तिवादी सोच हावी हुँदै गयो भने समाजमा निःस्वार्थ सेवा र करुणा पनि हराउँदै जान्छ । जब नैतिकताका पाटाहरू र अनुशासनलाई गौण मान्दै जाने प्रवृत्ति विकास हुन्छ तब समाजमा उच्छृंखलताले स्थान बनाउन थाल्छ । यस्तो उच्छृंखलतालाई समयमै सम्बोधन गर्न सकिएन भने यसले विकराल रूप लिई समाजलाई अधोगतितिर लैजानसमेत सक्छ ।

नैतिकताका विषयमा कुरा गर्दा ग्रिकका महान् दार्शनिक सुकरातको जीवनकथा निकै नै मर्मस्पर्शी छ । उनले भनेका थिए, ‘आत्म–निरीक्षण नगरिने जिन्दगी जिउनुको कुनै अर्थ छैन ।’ उनको नैतिक दर्शन अनुसार निरन्तरको आत्म–निरीक्षणबाट व्यक्तित्वमा नैतिकता र गुणवत्ताको विकास हुन्छ । त्यसैले त उनले भन्ने गर्थे, ‘भर्चु इज नलेज’ अर्थात् ‘गुण नै ज्ञान हो ।’ आफ्नो नैतिक दर्शनप्रति उनी यतिसम्म प्रतिबद्ध थिए कि आफ्नो जीवन र दर्शनबीच रोज्नुपरे, उनलाई दर्शन नै प्यारो थियो । उनका सोच र दर्शनले त्यसबेलाको परम्परागत ज्ञानमाथि ठूलो धावा बोल्यो । तर, अचम्म यो थियो कि उनको दर्शनप्रति त्यो बेलाको एथेन्सका युवा निकै नै आकर्षित भए । अनि युवाको मति बिगारेको आरोपमा उनलाई पक्राउ गरियो र मृत्युदण्ड दिइयो । आफ्नो दर्शनलाई त्यागे जीवनदान दिने प्रलोभन उनले नपाएका पनि होइनन् तर दर्शनलाई त्याग्नुभन्दा जीवनलाई त्याग्नु उचित ठाने । मृत्युको रत्तीभर पनि डर नमानी उनले हेमलक नामक विष पिए । उनले मृत्युवरण त गरे तर आफ्ना मूल्यहरूप्रति प्रतिबद्धताका कारण सधैंभरि बाँचिरहे ।

त्यसै गरी पूर्वीय दर्शनका महान् दार्शनिक चाणक्यले रातको समयमा सरकारी काम गर्दा सरकारी खर्चको टुकी तथा व्यक्तिगत काम गर्दा व्यक्तिगत खर्चको टुकी प्रयोग गर्ने गरेको लोकप्रिय दृष्टान्त नैतिकताबारे सबैले बुझ्ने गहन व्यावहारिक प्रयोग हो । सत्य बाटोलाई आफ्नो जीवनभन्दा पनि प्यारो मान्ने बग्रेल्ती उदाहरणहरू इतिहासका पानामा भेटिन्छन् । बोली र व्यवहारमा आकाशपातालको फरक देखिने अहिलेको परिवेशमा माथिका दृष्टान्तले झनै महत्त्व राख्दछन् ।

अब हाम्रो आफ्नै परिवेशको कुरा गरौ । ऋषिमुनिको अद्वितीय ज्ञानको भण्डारले सिञ्चित हाम्रो भूमिमा नैतिकता हराउँदै गएको छ । ‘सर्वे भवन्तु सुखिनः’ अर्थात् ‘सबै सुखी होऊन्’ को हाम्रो परम्परागत दर्शनलाई गिज्याउने गरी व्यक्तिवादी संस्कार विकास हुँदै गएको छ । अब त यहाँ सफल हुने कामना मात्र गरेको देखिन्छ, असल हुने विश्वास डगमगाउँदो छ । को कसरी सफलताको सिँढी उक्लियो भन्दा पनि सफल भयो या भएन भन्ने कुराले ठूलो अर्थ राख्न थालेको छ । छलकपट, ढाँट, विश्वासघात गरेर अघि बढ्नु सामान्यजस्तै बनेको छ र यस्तो किसिमको चतुर्‍याइँ देखाउने मान्छेलाई समाजले ‘टाठो’ भनेर वाहवाही गर्छ भने अनुशासित जीवनशैलीले आफ्नो कर्म गरेर खानेलाई ‘सोझो’ भनेर अवहेलना गर्ने प्रवृत्ति बढ्दो छ ।

हाम्रा राजनीतिक दलमा गुण र दोषको सीमारेखा मेटिने गरी आफ्नो दलले गरेका सबै कुरा राम्रो तथा अर्काको दलले गरेको सबै कुरा नराम्रो देख्ने प्रवृत्ति बढ्दो छ । राजनीतिक शक्ति संघर्षको दाउपेचमा धेरै पटक नैतिकताका सीमारेखा मिचिएको विषयमा हामी जानकार नै छौं । कर्मचारीतन्त्र राजनीतिमा पहुँच भएकाको मात्र हो कि जस्तो देखिएको छ । योग्यता प्रणाली लोकसेवा आयोगको ढोकाबाट कर्मचारी बाहिरिनेबित्तिकै हराएको भान भएको छ । को कति योग्य छ भन्दा पनि कसको कति पहुँच छ भन्ने आधारमा अवसरको वितरण हुनु सामान्यजस्तो भएको छ । हामी यति धेरै व्यस्त देखिन्छौं कि पद्धति निर्माण गर्नसमेत हामीलाई फुर्सद छैन । हजारौं बेफुर्सदीको समाधान एउटा सानो पद्धतिले गर्न सक्छ । उदाहरणका लागि एउटा सरुवाको प्रणाली मात्र व्यवस्थित गर्न सके निजामती सेवाका धेरै विकृतिलाई समाधान गर्न सकिन्छ भन्ने थाहा नपाउने हामी को हौंला र ? त्यो प्रणाली निर्माण गर्ने क्षमता नभएका पनि हैनौं । तर हामीलाई फुर्सद छैन । सरुवाको बेलामा त झनै फुर्सद छैन । अनि हाम्रै व्यस्तताले हामीलाई गिज्याइरहेको छनकसमेत पाउँदैनौं । यो व्यक्तिविशेषको कमजोरीभन्दा पनि प्रवृत्तिको रूपमा विकास हुँदै जानु समग्र राष्ट्रका लागि चिन्ताको विषय हो ।

हामीकहाँ समयको अनुशासन एकादेशको कथाजस्तो भएको छ । विकसित देशमा सेकेन्डसेकेन्डको महत्त्व झल्किने गरी नतिजामुखी कामहरू भैरहँदा हाम्रोमा दैनिक चियागफको नाममा होस् या मन्तव्यको नाममा या अन्य कार्यक्रमको नाममा होस् लामो समयसम्म बोल्ने र सुन्ने ‘फुर्सदिला’ प्रतिभा हिजोभन्दा आज बढ्दोक्रममै देखिन्छन् । हामी यतिसम्म विकृत भैसकेका छौं कि कुनै पनि सभा, समारोह या कार्यक्रममा अरूभन्दा ढिलो जाँदा आत्मग्लानि हुँदैन । अलि जिम्मेवार र ठूलो पदमा आसीन छौं भने त त्यो हाम्रा लागि झन् सामान्य विषय हुन्छ । सामान्य नागरिकलाई समेत यो स्वीकार्य बनिसकेको छ किनकि यो हाम्रो बानीको रूपमा विकास भैसकेको छ, हामी यसलाई ‘नेपाली टाइम’ भन्दै संस्कृतिका रूपमा विकास गर्न खोज्दै छौं । सन् २०१८ मा बेलायतका एक जना मन्त्री माइकल बेट्सले हाउस अफ लर्डसको प्रश्न–उत्तर सत्रमा समयमै उपस्थित हुन नसकी आफू ‘अशिष्ट’ भएको भन्दै मन्त्री पदबाट राजीनामा दिएका थिए र यो विश्वव्यापी चर्चाको विषय बनेको थियो । पक्कै पनि नेतृत्वमा सामान्य मानिसभन्दा उपल्लो तहको समयको अनुशासन हुनुपर्छ, जसले अरूलाइै पनि सोही बाटोमा हिँड्न प्रेरित गर्न सकोस् । अहिले संसारका सबैभन्दा धनाढ्य व्यक्ति एलन मस्क भन्ने गर्छन्, ‘एभ्री वेकिङ आवर इज वर्किङ आवर’ अर्थात् ‘जागा रहेको हरेक समय काम गर्ने समय हो’ । उनी भन्छन् पनि यस्तै, काम गर्छन् पनि यस्तै अनि अचम्मको नतिजा दिन्छन् । समयप्रतिको यो चेत हामीमा कहिले खुल्ने हो, अनुमान लाउनसमेत गाह्रो छ ।

अहिलेको विश्व प्रविधिको अभूतपूर्व प्रगतिले धेरै नै सानो बनिसकेको छ । पछिल्लो समय जनजीवनको अभिन्न अंग बनिसकेको सामाजिक सञ्जालमा व्यक्त भएका विचार र प्रतिक्रिया हेर्दा हामी नैतिक रूपले स्खलित हुँदै गएका मात्र छैनौं, कर्तव्य र शिष्टतालाई पनि तिलाञ्जली दिने बाटोमा छौं भन्ने देखिन्छ । सामाजिक सञ्जाल घृणा र विद्वेष फैलाउने थलोका रूपमा विकास हुँदै छ । कतिपय प्रभावशाली व्यक्तित्व तथा नेतृत्वले असामान्य र गलत विचार सामाजिक सञ्जालमा व्यक्त गरे पनि ताली बजाउने तथा कतिपय व्यक्तित्वका सही विचारमा पनि हेर्नै नसकिने अशिष्ट प्रतिक्रिया व्यक्त हुनु सामान्यजस्तै बनिसके । सामाजिक सञ्जालमा आधिकारिकताबिनाका समाचार प्रकाशित हुने अनि त्यसकै आधारमा व्यापक धारणा बन्ने प्रवृत्तिले हामीलाई सत्यबाट विमुख बनाइरहेको छ । व्यक्तिगत स्वतन्त्रता लोकतन्त्रको आत्मा हो तर स्वतन्त्रताका नाममा गलत संस्कारको विकास पनि त गर्न भएन । विश्व अनुभवले के देखाउँछ भने सरकारको प्रभावकारी नियमन क्षमताले यस्ता विकृतिलाई नियन्त्रण गर्न सकिन्छ र गर्नुपर्छ पनि । तर हामीकहाँ नैतिकता र अनुशासनभन्दा उच्छृंखल व्यक्तिगत स्वतन्त्रता बढी हावी छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको सन् २०२२ को भ्रष्टाचार अनुभूति सूचकांकमा विश्वका १८० देशमध्ये ३४ अंकसहित नेपाल ११० औं स्थानमा छ । ५० भन्दा कम अंक ल्याउनु भनेको तुलनात्मक रूपमा बढी भ्रष्टाचार भएको मानिने यो सूचकांकमा नेपालको अंकले यहाँ भ्रष्टाचारको मात्रा निकै बढी भएको देखिन्छ । यो त अन्तर्राष्ट्रिय आँखाले हेरेको कुरा भयो । वास्तविक रूपमा सुशासन किताबका ठेलीहरूमा भन्दा जनताको अनुभूतिमा हेरिनुपर्छ भन्ने भनाइ छ । अहिले छरपस्ट रूपमा बाहिर देखिएका नक्कली भुटानी शरणार्थी र सुन तस्करीसँग सम्बन्धित विषयले भ्रष्टाचारको ग्राफ माथि नै छ भनेर सबै झस्किन पर्ने अवस्था आएको छ । नेपालमा भ्रष्टाचार बढ्नुका मुख्य कारणहरूमध्ये एक नैतिक आदर्शलाई भन्दा पैसालाई बढी महत्त्व दिने सामाजिक मूल्यमान्यतालाई लिइएको छ । यसर्थ समाजमा नैतिकता स्खलित हुँदा सुशासनलाई कति ठूलो धक्का दिने रहेछ भनेर यसबाट बुझ्न सकिन्छ ।

अमेरिकाका २६औं राष्ट्रपति थियोडर रुजभेल्टले भनेका थिए, ‘नैतिक रूपमा नभै दिमागी रूपमा मात्र कुनै व्यक्तिलाई शिक्षित गर्नु भनेको समाजलाई हुन सक्ने खतरालाई शिक्षित गर्नु हो ।’ तसर्थ अहिलेको सबैभन्दा ठूलो आवश्यकता समाजको खस्कँदो नैतिक चेतलाई माथि उकास्नु हो । यसका लागि टालटुले सुधारभन्दा पनि ठूलो नीतिगत हस्तक्षेप गर्नुपर्छ । विद्यालय तहदेखि नै नैतिकतालाई बढावा दिने गरी पाठ्यक्रम निर्धारण गरिनुपर्छ । राजनीतिक, प्रशासनिक, धार्मिक, निजी र अन्य क्षेत्रका नेतृत्वले नैतिक रूपमा रोलमोडल हुने गरी आफ्नो व्यवहार प्रदर्शन गर्नुपर्छ । कारण, नेतृत्वमा धेरैलाई प्रभाव पार्ने क्षमता हुन्छ । मुहानबाट नैतिकता उदायो भने त्यसको प्रकाश चारैतिर फैलिन्छ । त्यस्तै सबैको सहज पहुँचमा रहेको मिडियाबाट पनि नैतिकता प्रवर्द्धन गर्ने सामग्री नियमित प्रकाशित हुनुपर्छ । नैतिकतासँग सम्बन्धित सचेतना कार्यक्रमलाई अभियानकै रूपमा देशव्यापी सञ्चालन गर्ने व्यवस्था गर्नुपर्छ ।

नैतिकतासँग सम्बन्धित महान् दार्शनिकका विचारहरू सञ्चार गर्नुपर्छ । राष्ट्रिय सदाचार नीति ल्याई राज्यसञ्चालनमा नैतिक पूर्वाधारको विकास गरेर सदाचारितालाई प्रोत्साहन गर्ने र पुरस्कृत गर्ने व्यवस्था गर्नुपर्छ । नैतिकतालाई उकास्न सहयोग पुग्ने गरी तथा प्रदर्शनीय प्रभाव पार्ने गरी कानुनी व्यवस्था गर्ने तथा त्यसको कार्यान्वयनलाई उच्च प्राथमिकता दिनुपर्छ । नागरिक समाज तथा मिडियाको निरन्तरको खबरदारीले समेत निकै सकारात्मक प्रभाव पार्न सक्छ । तसर्थ नैतिकवान् बन्नलाई प्रेरित गर्ने नैतिक वातावरणको सृजना गर्नु नै अहिलेको टड्कारो आवश्यकता हो ।

हरि प्रसाद शर्मा नेपाल सरकारका उपसचिव हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here