काठमाडौँ । फ्रान्सेली नागरिक चाल्र्स शोभराजलाई नेपाल फर्किन नपाउने गरी ‘डिपोट’ गरिने तयारी भइरहेको छ । हत्या अभियोगमा करिब दुई दशकदेखि कारागारमा कैद भुक्तान गरिरहेका उनी सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम शुक्रबार कारागारबाट मुक्त हुँदै छन् ।
प्रक्रिया पुर्याएर अध्यागमन विभागको जिम्मा लगाएपछि विभागले नेपाल फर्किन नपाउने गरी पठाइदै छ । विभागले नेपालमा अपराध गरेका विदेशी नागरिकलाई समय तोकेरै नेपाल फर्कन रोक लगाउने सक्ने अधिकार पाउँछ । त्यही अधिकारको प्रयोग गरेर शोभराजलाई आउनै नपाउने गरी डिपोर्ट गर्न लागिएको हो ।
विभागले यस विषयमा गृह मन्त्रालयसँग पनि राय लिएको थियो । गृहले कानुनमा भएको अधिकार प्रयोग गरेर आवश्यक निर्णय लिन निर्देशन दिएको छ । कारागारले अध्यागमनको जिम्मा लगाएपछि कानुनी र कागजी प्रक्रिया पूरा गरेर पुनः नेपाल आउन नपाउने गरी डिपोर्ट गर्ने तयारी भइरहेको छ, यसबारे नेपालस्थित फ्रान्सेली दूतावासका अधिकारीसँग पनि समन्वय गरिएको छ ।