लुक्लामा मौसम कारण २ हजार यात्रु रामेछाप विमानस्थलमा अलपत्र

रामेछाप । लुक्लामा मौसम नखुल्दा रामेछापबाट लुक्लाका लागि हुने उडान शनिबार बिहानैदेखि रोकिएको छ । उडान रोकिँदा झन्डै २ हजार यात्रु रामेछाप विमानस्थलमा अलपत्र परेका छन् । 

रामेछाप विमानस्थल नागरिक उड्डयन कार्यालयका एटीसी केदारप्रसाद सत्यालका अनुसार शनिबार मात्र तीनवटा विमान कम्पनीबाट लुक्लाका लागि ४५ वटा उडान निर्धारण गरिएको थियो । तर मध्याह्न हुन लाग्दासमेत एउटै उडान पनि हुन सकेको छैन । विमानस्थलमा यात्रुका लागि समिटका ३ र ताराका २ जहाज तयारी अवस्थामा छन् । हरेक उडानमा सरदर १७ यात्रु हुने गरेका छन् ।
निर्धारित समयमा जहाज उडान हुन नसकेपछि शुक्रबार केही यात्रु भने हेलिकोप्टर चार्टर गरेर लुक्लातर्फ उडेका छन् । तर हेलिकोप्टर पनि लुक्ला पुग्न सकेका छैनन् । लुक्लाभन्दा झन्डै ४५ मिनेट टाढाको सुर्केमा यात्रु पुर्‍याएर फर्केको सत्यालले बताए । अल्टिच्युट, मनाङ र यएर डायनेस्टीका हेलिकोप्टरले रामेछाप विमानस्थलबाट त्यसतर्फ केही यात्रु लगेका हुन ।

अविरल वर्षा र बाक्लो कुहिरोका कारण केही दिनदेखि नै रामेछाप-लुक्लाको उडान प्रभावित हुँदै आएको छ । मौसम सुधार नभएर रामेछापबाट उडान नपाएका केही विदेशीहरू गाडी लिएर सडक मार्ग हुँदै फाप्लुतर्फ लागेका छन् । फाप्लुबाट लुक्लातर्फ जानका लागि पैदल यात्रा उनीहरूले तय गर्नेछन् । छोटो अवधिका लागि मौसम खुलेमा उनीहरूले फाप्लुबाट हेलिकोप्टरमा पनि लुक्लातर्फ उड्ने आशा गरेर त्यसतर्फ गएका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौंको विमानस्थलबाट लुक्लातर्फ हुने उडान रामेछापबाट गर्न निर्देशन दिएपछि तारा, समिट र सीता एयरले गएको एक सातादेखि रामेछापबाट लुक्ला तर्फको उडान गर्दै आएका छन् । रामेछाप विमानस्थलमै जहाज रात्रिकालीन पार्किङ राखेर नियमित उडान हुँदै आए पनि मौसम बाधक भएकाले केही दिनदेखि उडान प्रभावित हुँदै आएको छ ।

विमानस्थलमा यात्रु उडान हुने प्रतीक्षामा खचाखच छन् । आसपासका चिया पसल, रेस्टुरेन्ट र होटलहरूमा यात्रुको खचाखच रहेका छन् । लुक्लाका लागि उडानको प्रतीक्षामा रहेका अधिकांश यात्रु विदेशी नागरिक छन् । शरद ऋतुमा हुने सगरमाथा आधार शिविरतर्फको दृष्यावलोकन र पर्वतारोहणका लागि उनीहरू त्यसतर्फ जान लागेका हुन् । (प्रदीप तामाङ )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here